धरान: नेपालमा मुंग्री माछा भनेर चिनिने क्याट फिस बषौंदेखि बिक्रीवितरण भइरहेको थियो । निर्वाधरुपमा ज्युँदो बिक्री भइरहेको यो माछा नेपालमा भने प्रतिबन्ध रहेछ ।

शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीले क्याट फिस अर्थात मुंग्री माछासहित एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएपछि मात्र ज्यूँदो मुंग्री माछा नेपाल भित्र्याउनु र बिक्रीविरतण गर्नु गैरकानुनी हो भन्ने सार्वजनिक भयो । तर, यसअघि भने सिमामा राखिएको क्वारेन्टाइन र भन्सारसँगको मिलेमतोमा यो माछा निर्वाध नेपाल भित्रिएर बिक्रीवितरण भइहेको पनि यसले पुष्टि गरेको छ ।

catko

भन्सार कार्यालय रानी हुँदै नेपाल भित्रिएको एक ट्रक क्याट फिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पशु क्वारेन्टाईन कार्यालय विराटनगरको साउन २ गतेको प्रमाण पत्र, विराटनगर महानगरपालिकाको सेवा शुल्क रसिद, राजस्व अनुसंधान विभागको साउन २ गतेको १५ लाख ९५ हजार ५७ रुपियाँको अनलाईन विल, राष्ट्रिय वार्णिज्य बैंको एक लाख ३१ हजार ७०२ रुपियाँको नगदी विल र भन्सार प्रज्ञापन पत्र सेमत वरामद भएको छ । विलमा ५ हजार ८ सय २० केजी उल्लेख भएपनि धर्मकाँटामा जोख्दा ७ हजार ५ सय १० केजी पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए । उक्त माछालाई एसपी थापा र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको रोहबरमा सोमबार नष्ट गरिएको छ ।

नेपालमा प्रतिबन्ध लगाउनुको कारण यस्तो छ

cat

प्रदेश सरकार मातहतको मत्स्य विकास अधिकृत नेल्सन पोखरलका अनुसार क्याट फिसको माछा पालनको लागि नेपालमा अनुमति दिइएको छैन । त्यसैले ज्यूँदो माछा नेपाल ल्याउन पाइदैन । ‘यो माछापालन गर्न नेपालमा अनुमति छैन । भुरा माछा पनि ल्याउन पाइदैन,’उनले भनिन्,‘बिक्री गर्नको लागि पनि ज्यूँदो माछा ल्याउन पाइदैन ।’  पोखरेलका अनुसार यो माछा मांसाहारी जातको हो । यो माछाले स्थानीय प्रजातिका सबै माछालाई खाइदिन्छ, र जैविक विविधतालाई पनि नष्ट गर्छ । प्रतिबन्ध लगाउनुको मुख्य कारण पनि यही हो । ‘यसले लोकल प्रजातिलाई खाइदिन्छ,’उनले भनिन्,‘यो माछा बायोडाइभर्सिटीको लागि खतरा हो ।’

केन्द्रीय मत्स्य प्रर्वद्धत तथा संरक्षण केन्द्र बालाजुका प्रमुख प्रमोद रिजालका अनुसार अहिलेसम्म नेपालमा यो माछाले पार्ने प्रभावबारे अध्ययन नभएको कारण नेपाल भित्र्याउने अनुमति दिइएको छैन । त्यसैले रानीस्थित पशु क्वारेन्टाइनमा नै यो माछालाई नेपाल आयातमा रोक लगाउनुपर्ने उनले बताए । उनका अनुसार आयातित माछाले नेपालको स्थानीय प्रजातिका माछाहरुलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन गरेपछि मात्र ल्याउन दिने वा नदिने भन्ने सिफारिश हुन्छ । ‘यो माछा मांसाहारी भएकोले यसको पालन गर्दा हुने प्रभावको अध्ययन गरेर मात्र ल्याउन सिफारिश वा अनुमति दिने कि नदिने भन्ने हुन्छ । अहिलेसम्म यो अध्ययन भएको छैन, त्यसैले भुरा वा ज्यँुदो ल्याउन प्रतिबन्ध नै छ,’उनले भने ।