धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षबाट हटाइएको भनिएको वीपी कोइरालाको तस्बिरलाई यथास्थानमा राखिएको छ ।

सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै चर्चा एवं आलोचना भएपछि आज बिहान वीपी अध्ययन प्रतिष्ठान सुनसरीसहित कांग्रेस नेताहरु प्रतिष्ठान गएर यथास्थानमा राखिएको हो । प्रतिष्ठानका अध्यक्ष विकास आचार्यले तस्बिर हटाएर फालेको नभै उपकुलपतिको कार्यकक्षको पहिलाको ठाउँबाट हटाएर एक साइडमा राखिएको अवस्थामा भेटिएको थियो । ‘पहिला बीचमा थियो, त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राखेर एक साइडमा राखिएको रहेछ । पुरै हटाएर फ्याकेको चै होइन,’आचार्यले भने,‘हामी गएर पहिलाकै ठाउँमा राख्न लगायौं ।’

फेरि यस्तो नगर्न तरुण दलद्वारा चेतावनी

bp-koirala2

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धरानले पनि प्रतिष्ठानको उपकुलपति डा.गिरीलाई भेटेर तस्बिर हटाइएको बिषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीको निर्देशन पछि तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले उपकुलपति डा.गिरीलाई भेटेर भविष्यमा यस्तो घटना नदोहोर्याउन चेतावनी दिएको हो ।

नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री कोइरालाको नाममा धरानमा प्रतिष्ठान स्थापना भएको हो । तर, कोइरालाकै तस्बिर हटाएर अपहेलित गरिएको पाइएकोले यस्तो पुर्वाग्रही नहुन र भविष्यमा नदोर्याउन चेतावनी दिइएको श्रेष्ठले बताए । ‘जो महामावनको नाममा संस्था स्थापना भएको हो, उहाँको नै तस्बिर पहिलाको ठाउँबाट हटाइएको रहेछ,’उनले भने,‘पार्टीले निर्देशन दिएपछि त्यो बिषयमा उपकुलपतिलाई भेटेर गम्भीरु ध्यानाकर्षण गरायौं, र आइन्दा यस्तो नगर्न भनेर चेतावनी पनि दियौं ।’

bp-koirala 1

पहिलाकै ठाउँमा राख्नको लागि उपकुलपतिको कार्यकक्षमा देब्रे साइडमा सारिएको वीपी कोइरालाको तस्बिर झिकिदै ।

श्रेष्ठका अनुसार उपकुलपति गिरीले सरसफाई गर्दा फोटो सारेको र पछि यथास्थानमा राखेको भन्ने जवाफ दिएका थिए । तर, सरसफाई गरिसकेर किन पहिलाकै ठाउँमा नराखेको भन्ने प्रश्न गरेको पनि श्रेष्ठले बताए । ‘राष्ट्रपति, प्रधानमन्त्रीको तस्बिर राखिएकोमा आपत्ति होइन, तर जसको नाममा संस्था स्थापना भएको हो, उहाँको तस्बिरलाई अपहेलित गर्नुहुदैन भन्ने हो,’उनले भने ।