धरान: धरान ३, चन्द्रपुर बजारस्थित पालिका तरकारी बजारका आगलागी पीडितहरुलाई प्रदेश १ का सभामुख, उपसभामुख र सांसदले भेट गरेका छन् ।

आज(मंगलबार) दिउँसो सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल र सांसद उमिता वराइलीले आगलागी भएको बजारको स्थलगत अवलोकन गर्दै पीडितहरुसँग भेट गरेका हुन् । भेटको क्रममा आगलागी पीडितहरुले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए । साथै, व्यवसाय शुरु गर्नको लागि चाडो ट्रष्ट निर्माण गर्नको लागि सरोकारवाला निकायमा पहल गर्न पनि उनीहरुले आग्रह गरेका थिए । स्थलगत अवलोकन पछि सभामुख, उपसभामुख र सांसदले भानुसब्जी तथा फलफुल व्यवसायी समितिको कार्यालयमा पीडितहरुको गुनासो सुनेका थिए ।

समितिका अध्यक्ष राजेन्द्र दर्नालका अनुसार पीडितहरुको तर्फबाट नेकपा प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघाले कुरा राखेका थिए । बेघाकी श्रीमति सविना खनाल बेघाले सञ्चालन गर्ने कस्मेटिक पसल पनि सो आगलागीमा परेर नष्ट भएको थियो । ‘सबैको आग्रहमा पीडितहरुको तर्फबाट उहाँले कुरा राख्नु भएको थियो । उहाँले हामीलाई सम्भव भएसम्म क्षतिपूति सबै उपलब्ध गराइयोस्, र चाडो पसल सञ्चालनको लागि ट्रष्ट बनाइदियोस् भन्ने माग गर्नुभयो,’बेघाको भनाई उदृत गर्दै समिति अध्यक्ष दर्नालले भने । 

agolagi1

पीडितहरुको कुरा सुनिसके पछि सभामुख भण्डारीले स्थानीय तहबाट नै सबै कुरा गर्नुपर्ने धारणा राख्दै चाडो आगलागीले क्षति पुर्याएको पसलको चाडो पुर्ननिर्माण गरेर व्यवसाय शुरु गर्ने अवस्था बनाउन साथै, आवश्यक सहयोगको पहल गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दर्नालले जानकारी दिए ।

सर्वपक्षीय समिति गठन

भानु सब्जी तथा फलफुल व्यवसायी समितिका अध्यक्ष दर्नालका अनुसार आगलागी पीडितहरुलाई क्षतिपूर्ति दिलाउन एउटा सर्वपक्षीय समिति पनि बनेको छ । भानुसब्जी व्यवासायी समिति संयोजक रहेको समितिमा सुनसरी उद्योग वाणिज्य संघ, ३ नम्बर वडा कार्यालय, रेडक्रस सोसाइटी, कृषि बजार व्यवस्थापन समिति, सेक्युरिटी कम्पनी पनि छन् । यो समितिको बैठक बुधबार बसेर समितिलाई पुर्णता दिने र क्षतिपूर्तिको लागि कुन निकायमा कसरी जाने भने निर्णय गरिने उनले बताए । ‘वडा नं ३ को कार्यालयमा क्षतिपूर्तिको लागि पीडितहरुको निवेदनसहित सिफारिश गरिसकेका छौं,’उनले भने,‘भोली बुधबार बैठक बस्छौं र कसरी अघि बढ्ने भनेर निर्णय गछौं ।’

पीडितहरुले समितिमा ६७ लाख ५० हजार क्षति भएको निवेदन दिएका थिए । हिजो सोमबार दिउँसो सर्जमिन मुचुल्का उठाउदा पनि त्यति नै क्षति भएको विवरण उठेको अध्यक्ष दर्नालले बताए । वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठले भानु सब्जी समितिबाट क्षतिपूर्तिको लागि सिफारिश पत्र आएको स्वीकार गर्दै वडाले चाडो भन्दा चाडो आगलागी भएको पसलमा टहरा निर्माण गरिदिने बताए ।