धरान: कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा खाद्यान्न र औषधी पसलबाहेक अन्य पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले यस्तो निर्णय गरेको हो । खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बेजसम्म मात्र खोल्न दिइने निर्णय भएको हो । धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका बढीरहदा आज उपमहानगरपालिकामा भएको बैठकले यस्तो निर्णय गरेको हो । पसलहरुमा सामाजिक दुरी कायम गर्ने, अनिवाय मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेलगायतलाई कडाई पनि गरिने भएको छ । 

dhrn-meeting

बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ । यस्तै, सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने पनि निर्णय भएको छ । यो निर्णय भोली(शुक्रबार)देखि लागु हुने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

यसअघि, समाचारमा अन्यथा भएकोले सच्याइएको छ, र क्षमाप्रार्थी छौं । सम्पादक