धरान: धरानमा पनि कोरोना संक्रमण समुदायस्तरमा पुगेको आशंका बढीरहेको बेला आज धरान उपमहानगरपालिकामा चिकित्सकसहित वृहत सुरक्षा बैठक बसेको छ ।

बैठकले संक्रमण फैलन नदिन केही निर्णयहरु गर्दै भोली(बिहिबार) पुनः सिडिओ, जिल्ला प्रहरी प्रमुखसहित सर्वदलीय बैठक बस्ने निर्णय गरेको छ । धरानका मेयर तिलक राईका अनुसार संक्रमण समुदायस्तमा फैलिएको हुनसक्ने भएकोले कोभिडमा केन्द्रीत रहेर बैठक बसेको थियो । ‘संक्रमण बढ्दै गएको छ, धरानमा पनि समुदायस्तरमा हो कि भन्ने आशंका गरिएकोले सुरक्षालाई व्यवस्थित बनाउन बैठक बसिएको हो,’उनले भने,‘भोली(बिहिबार) पनि सिडिओ, एसपीसहित सर्वदलीय बैठक बस्दैछौं ।’

आजको बैठकले तिनकुने चेकपोष्टमा धरान प्रवेश गर्नेहरुलाई अनिवार्य इन्ट्री(दर्ता) गर्ने र माक्स वितरण गर्ने निर्णय गरेको छ । सो स्थानमा एक जना नगर प्रहरी उपमहानगरपालिकाले खटाउने र माक्स पनि उपमहानगरले उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, धरान बजार क्षेत्रमा सामाजिक दुरी कायम गर्ने, हात धुने र माक्स प्रयोगमा उद्योग वाणिज्य संघको नेतृत्वमा प्रचारप्रसा गरी सचेतना फैलाउने निर्णय पनि गरेको छ ।

यस्तै, तीनकुनेमा सचेतीकरण बोर्ड राख्ने र हात धुने टंकीलाई पुनः सुचारु गर्ने पनि निर्णय गरेको छ । नगर प्रमुख राईको अध्यक्षतामा बसेको बैठकमा इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरीका डिएसपी सुमन पोख्रेल, वीपी प्रतिष्ठानका डाक्टर इन्द्र लिम्बु, डा.प्रज्वल प्याकुरेललगायत सहभागी थिए ।