इलाम: इलाम सदरमुकाममा रहेको सशस्त्र प्रहरीको गणमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ४० जना सशस्त्रको स्वाब संकलन गरिएकोमा आज शनिबार आएको रिपोर्ट अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गणमा संक्रमित सशस्त्र प्रहरीको मात्र संख्या २७ पुगेको छ । यसअघि पनि एक डिएसपीसहित १० जना पोजेटिभ देखिएका थिए । इलाममा संक्रमितको कुल संख्या भने ५७ पुगेको छ ।

रिपोर्ट पोजिटिभ आएका सबैलाई आजै मोरङको गोठगाउँस्थित आइसोलेसन पठाइने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए । भारतीय सीमा क्षेत्र तथा विभिन्न क्वारेन्टिनहरूमा खटिएका सशस्त्रको टोलीबाट गणमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । गणमा रहेका ४० जनालाई बेग्लै राखिएको सशस्त्रका डिएसपी विश्व खड्काले जानकारी दिए ।