धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ८ जना नयाँ संक्रमित भर्ना भएका छन् ।

प्रतिष्ठानबाट २ बर्षकी बालिकासहित ८ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ बर्षकी बालिकादेखि ७० बर्षकी महिलासमेत रहेको प्रतिष्ठानले जानकारी दिएको छ । डिस्चार्ज हुने ६ जना पुरुष र २ जना महिला हुन् । उनीहरु सुनसरीका ४ जना र उदयपुर जिल्लाका ४ जना रहेका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको पनि प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । हालसम्म प्रतिष्ठानबाट २८१ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमितहरु प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् । भर्ना भएका नयाँ संक्रमितहरुमा ६ जना मोरङ जिल्लाका हुन् भने २ जना झापा जिल्लाका हुन् । उनीहरुसँगै हाल प्रतिष्ठानमा २९ जना संक्रमित व्यक्तिहरु उपचाररत रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । प्रतिष्ठानमा हालसम्म १५ हजार ३९ पिसिआर परीक्षण भइसकेको पनि उनले जानकारी दिए ।