धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली शनिबार कटारी नगरपालिका १ कालीखोलास्थित ५७ बर्षीय तर्कबहादुर अधिकारी(खत्री)को घर पुगे, तर उनलाई घरमा भेटिएन ।

तर्कबहादुरलाई परिवारले घरदेखि करिब २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको रहेछ । मन्त्री घिमिरेसहितको टोली पुग्दा तर्कबहादुर नग्न अवस्थामा थिए । स्थानीय पवित्रा थापाका अनुसार तर्कबहादुर विगत १० बर्षदेखि खोरमा त्यसरी नै नग्न अवस्थामा बस्दै आएका छन् । मन्त्री घिमिरेसहितको टोलीलाई उनलाई खोरबाट उद्दार गरेको छ ।

शनिबार कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुलाई मन्त्री घिमिरेसहितको टोलीले उद्दार गरेको छ । उद्दार गरिएकामा सडक आश्रित गर्भवति बालिकासहित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरमा गएर मन्त्री घिमिरे, प्रदेश सभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधि सहितको टोलीले उद्दार गरेको हो ।

uddar-photo

उद्दार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवाहरु रहेका छन् । उनीहरु सबैलाई मानव सेवा आश्रम विराटनगर लगिएको छ । त्यहाँ सबैको पिसिआर परीक्षणको लागि स्वाब पनि संकलन गरिएको मन्त्रालयले जनाएको छ । कटारीमा करिव ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरी समस्या समाधानको पहल शुरु गरेको बताइन् । प्रदेश सरकारको अभियान अन्र्तगत उद्दार शुरु गरेको उनले बताइन् ।

प्रदेश १ सरकारले सडक आश्रित सवैको उद्दार गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कटारीका सडक र घर–घरमा पुगेर उद्दार गर्दै मन्त्री घिमिरेले प्रदेश १ का सवै स्थानीय तहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन विताईरहेकाहरुको उद्दार गरिने बताए । प्रदेश १ का सडकमा आश्रित र सहयोगापेक्षीको उद्दार गरि सडक मानवमुक्त बनाईने मन्त्री घिमिरेले दोहो¥यए ।
उद्दार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राख्ने गरिएको छ ।

uddar-photo-2

सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा मानव सेवा आश्रमले सडकआश्रितहरुको उद्दार गर्दै आएको छ । उद्दार गरिएकाहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए । मानव सेवा आश्रमले अहिले सम्म प्रदेश १ मा १ सय ८ जनाको उद्दार गरिसकेको छ । उद्दार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन् । अन्यलाई उपचार पछि परिवारको जिम्मा लगाईएको छ ।

uddar-photo-4