धरान: पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये प्रदेश १ मा २७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २४६ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १११ जना रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १४ हजार ६०३ रहेको । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा आज २७ जना संक्रमित थपिएको छन् । ती मध्ये ५ जना महिला र २२ जना पुरुष छन् ।

थपिएका संक्रमितमध्ये मोरंगका १६ जना र सुनसरीका ११ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगमा विराटनगरमा ४ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ भने मोरंगकै बुढीगंगामा १ पुरुष, कटहरीमा २ र ग्रामथानमा १ जना पुरुष संक्रमण पुष्टि भएको हो । यस्तै, सुनसरीको धरानमा ९ जना, इटहरीमा १ जना र बराहक्षेत्रमा १ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।