विराटनगरः सोमवार प्रदेश १ मा ५७ जना नयाँ सँक्रमित थपिए । यो दिउँसो २ बजेसम्मको तथ्यांक हो ।

नेपाल सरकारले लकडाउन खोलेपछि देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश १ सरकारले थप उपचार क्षमता बढाउने तयारी थालेको छ । सरकारले पछिल्लो अवस्थाको पारिस्थितिक विश्लेषण गर्दै कोभिड उपचार केन्द्रको क्षमता र प्रयोगशालाको क्षमता बढाउने बताएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश १ मा हाल ८सय नमुनाको दैनिक पिसिआर परीक्षण हुन्छ । यसलाई दैनिक १५ सयको क्षमतामा पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइइसोलेटेड अस्पतालको क्षमतालाइ १ सयबाट २ सय पुर्याउने जानकारी दिए । यो सँगै विराटनगरको कोभिड उपचार केन्द्रलाई ७० बाट ३ सय वेडको पुर्याउने काम भइरहेको छ भने झापाको मेची अस्पताल आइइसोलेडेट सेवा आजैदेखि सुचारू गरिएको छ ।

मन्त्री घिमिरेले संक्रमितको सम्पर्कमा रहेको व्यक्तिको परिक्षणलाई तीव्र पारिएको जानकारी दिए । उनले जोखिम क्षेत्रको मास टेस्टलाईसमेत तीव्र पारिने जानकारी दिए । आज प्रदेश १ मा थपिएका ५७ संक्रमित मध्ये ४६ मोरङका हुन् भने बाँकि सुनसरी र झापाका रहेका छन् । हालसम्म प्रदेश १ मा ११ सय २२ लाई कोरोना सँक्रमणको पुष्टि भइसकेको छ भने निको भएर घर जानेको सँख्या ८ सय २७ रहेको छ । प्रदेश १ मा २ सय ४ जना आइसोलेसनमा रहेका छन् भने ९० जना उपचार प्रक्रियामा रहेका छन् । हालसम्म प्रदेश १ मा २ जनाको कोरोनाकै कारण ज्यान गएको सरकारले पुष्टि गरेको छ । ति दुवै मोरङका हुन् ।