धरान: शुक्रबार दिउँसो करिब ३ बजे राजन बास्तोलाको फेसबुक आइडिबाट २ वटा फोटो पोष्ट भयो, जसको क्याप्सन लेखिएको थियो,‘धरानको लकडाउन यस्तै हुन्छ ।’
उनले यस्तो लेख्नुको बिशेष कारण छ । पोष्ट भएको फोटो एउटा ढुवानी गर्ने ट्रकको हो, जहाँबाट गोर्खा स्ट्रंग वियर झिकिदै(अनलोड) गरेको देखिन्छ । यो तस्बिर धरान १ लक्ष्मी चोकमा वियर अनलोड गरिएको हो । धरानमा साउन २२ गतेदेखि एक साताको लागि पुर्णलकडाउन गरिएको छ । अत्यन्तै कडाई गरिएको यो लकडाउनमा दुध, खाद्यान्न र तरकारी जस्ता अत्यावश्यक वस्तु ढुवानीको गाडीलाई पनि निषेध गरिएको छ । धरान बाहिरबाट भित्रिन मात्र होइन, धरानभित्रै उत्पादन गरिएको दुध, तरकारीलाई पनि होम डेलिभरी गर्ने व्यवस्था समेत रोक लगाइएको छ ।
दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गएकोले आम सर्वसाधारणहरुले पनि यो निर्णयमा आपत्ति जनाएको छैन । तर दुध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको ढुवानी रोक लगाएको धरानमा वियरको ढुवानी गर्ने गाडी भने निर्वाध प्रवेश पाइरहेको रहेछ । पश्चिमबाट वियर बोकेर हिजो(शुक्रबार) एक दिन मात्र ढुवानीको गाडी आएको होइन, आज शनिबार पनि आएर वियर अनलोड गरेको वडा नं १ निवासी राजन बस्तोलाले जानकारी दिए ।

‘हिजो शुक्रबार पनि गाडी आएर वियर अनलोड गर्यो, आज त झन् ३ ठाउँमा अनलोड गरेको छ,’उनले क्लिकधरानसँग मोवाइल सम्पर्कमा भने,‘लकडाउन भरि त आरामले बस्न देऊ, यसरी गाडी नल्याउ भनेको, अधिकार लिएरै आएको भन्यो । नगरपालिकामा फोन गरे, उठेन । सबैको मिलेमतोमा आएको होला भन्ने सोचे ।’ पश्चिममा नै बढी संक्रमण फैलिएकोले त्यताबाट आउने गाडी र मजदुरमा संक्रमणको जोखिम हुने भएकोले पनि प्रवेश गर्न नदिनुपर्ने उनले बताए ।
लकडाउनको निर्णयमा कुनै पनि ढुवानीको साधनहरुलाई पनि धरानभित्र सामान अनलोड गर्ने गरि प्रवेश गर्न नदिने भन्ने छ । कार्यपालिका बैठकले लकडाउनको निर्णय गरेपछि बसेको सुरक्षा समितिको बैठकले धरान हुदै पहाड वा दक्षिण इटहरी सिधै जाने गाडीलाई मात्र जान दिने भन्ने छ । तर, सुरक्षा समितिको यो निर्णय विपरीत वियरको यो गाडीलाई धरानभित्रै वियर झार्न दिने गरि छुट दिइएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भइरहेको छ ।
आज पनि धरान १३ शिखर युवा समाजका अध्यक्ष युनेश राना मगरले फेसबुकमा वियर अनलोड गर्दै गरेको तस्बिर पोष्ट गरेर प्रशासनले कडाई गर्नुपर्ने माग गरेका छन् । उनले लेखेका छन्,‘धरानमा लकडाउन भनिएको छ, तर व्यापारीहरुले खुलेआम बियरको स्टक राखिरहेको छ । स्थानीय निकाय कडारुपमा प्रस्तुत हुन जरुरी छ ।’ उनका अनुसार आज(शनिबार) दिउँसो धरान १, शिखर टोलमा थुप्रै कामदारहरुले वियर अनलोड गरिरहेका थिए । परैबाट फोटो खिचेको देखेर कामदारहरु लुकेको उनले बताए । ‘मास्क पनि धेरैले लगाएको देखिन, फोटो खिच्न थालेपछि लुके । मैले कराए पनि, तर कोही बोल्नै मानेनन्,’मगरले भने,‘लकडाउन हो भने प्रहरी प्रशासनले सबैलाई कडाई गर्नुपर्छ । दुध, सागसब्जीलाई चै छिर्न नदिने तर वियरलाई छोड्ने ? लकडाउनमा यो कस्तो नियम हो ? वियर कसरी अत्यावश्यक भयो ?’

धरान उपमहानगरपालिकाको नगर प्रहरीको इन्स्पेक्टर विष्णु कोइरालालाई यो बिषयमा सम्पर्क गर्दा उनले वियरको ट्रक धरानमा आएको वा भित्र चलिरहेको भन्ने जानकारी नभएको बताए । उनले भने,‘त्यसरी नकुद्नु पर्ने हो । हामीले भेट्यौ भने त चाबी खोसेर प्रहरी, ट्राफिकलाई बुझाउने गरेका छौं ।’ ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पनि धरानभित्र सामान अनलोड हुने गरि कसैलाई प्रवेश गर्न नदिइएको बताए । तीनकुने चेकपोष्टमा सिधै पहाड जाने गाडीलाई मात्र छुट दिइरहेको उनको दाबी थियो । ‘कि तीनकुनेमा पहाड जाने भनेर ढाटेर आयो कि ? प्रहरीले कसैलाई छोड्ने, कसैलाई नछोड्ने गरेको छैन । प्रहरीले आफ्नो डिउटी राम्ररी नै गरिरहेको छ,’उनले भने,‘त्यस्तो हो भने म तत्काल बुझन लगाइहाल्छुँ ।’
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले सबै व्यापार, व्यवसाय र ढुवानीका गाडीहरु बन्द नै रहेको बताए । वियर अनलोड भइरहेकोबारे उनले पनि अनभिज्ञता प्रकट गर्दै भने, ‘मैले पनि बुझ्नुपर्छ । तर, हिजो आज हो भने पुरानो अर्डरको सामान पश्चिमबाट आएर अनलोड गरेको हुनसक्छ । लकडाउन हुनुअघि नै उताबाट गाडी हिडेको हुनाले अहिले आइपुगेको पनि हुनसक्छ ।’







