धरान: धरान उपमहागनगरपालिकाले आज मध्यराती १२ बजेदेखि एक सातालाई लकडाउन गर्ने निर्णय गरिसकेको छ । यो निर्णय साउन २८ गते मध्य रातीसम्म लागुहुन्छ ।

विगतमा नेपाल सरकारले नै चैत ११ गतेदेखि लामो लकडाउन गरेको थियो । पहिलो पटक लकडाउन अनुभवन गरेका नेपालीहरुले कडाईका साथ पालना गरेनन् । धरानमै पनि भित्री सडक, चोकहरुमा खुलेआम हिडडुल गर्ने, पसलहरु खोल्ने गरे भने डाँडाकाडा, खोलानाला तिर घुम्न जानेहरु पनि अत्यधिक थिए । खाद्यान्न र तरकारी पसलहरु निर्वाध चले भने होम डेलिभरी पनि छुट दिइएको थियो । तर, आज कार्यपालिकाले एक साताको लकडाउनको निर्णय गर्दा स्वास्थ्य सेवा र औषधी पसलबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको यो निर्णय लगत्तै बसेको शान्ति सुरक्षा र कोभिड १९ समितिको बैठकले पनि भोलीदेखि धरानमा औषधी पसलबाहेक कुनै पनि पसल खोल्न नदिने तथा एम्बुलेन्स, शववाहन, सरसफाई र वारुण यन्त्र(दमकल)बाहेक अन्य गाडीहरु पनि चल्न नपाउने निर्णय गरेको छ । यसपालीको लकडाउन अत्यन्तै कडा हुने भएकोले घरबाट बाहिर ननिस्कन र एक सातालाई पुग्ने खाद्यान्न तथा तरकारीहरु जोहो गर्न उपमहानगरपालिकाले धरानबासीहरुलाई आग्रह गरेको छ । उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने,‘यसपाली पहिलाको जस्तो लकडाउन हुदैन । पुर्ण कडाईका साथ लकडाउन हुन्छ । त्यसैले एक हप्तालाई पुग्ने गरि खाद्यान्न किनेर राख्न आह्वान गरेका छौं ।’

धरानको लकडाउनमा के के चल्छन् ?

meetinng-1

यसपाली लकडाउनमा स्वास्थ्यसँग सम्बन्धित सेवाहरु मात्र सबै चल्ने भनिएको छ । साथै, सरसफाई, वारुण यन्त्रजस्ता अत्यावश्यक सेवाहरु मात्र चल्नेछन् । त्यो बाहेक अन्य जिल्ला वा नगरबाट आएका खाद्यान्न ढुवानीका गाडीहरु धरानमा नरोकि सिधै पहाडतिर जान्छन् भने चल्न दिने निर्णय गरिएको पनि वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । ‘त्योदेखि बाहेक एक हप्तासम्म सम्पुर्ण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, बैंक बित्तिय संस्था लगायत सबै सरकारी कार्यालयहरु बन्द रहने भनिएको छ,’उनले भने,‘धरान भित्रैको तरकारी, दुध पनि बजारमा बेच्न पाइदैन, निर्माण कार्यहरु पनि सबै बन्द नै हुन्छन् ।’

meeting-2

अहिले कोही चारो ओसार्न जानुपर्ने, औषधी पुर्याउन जानुपर्ने भन्दै सम्पर्क गरिरहेको पनि खतिवडाले बताए । त्यो समस्या लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय गरेर समाधान गरिने उनको भनाई छ । ‘पुर्ण कडाईका साथ लकडाउन गर्ने भन्ने छ । यसपाली पहिलाजस्तो हुदैन, कडाईका साथ लागु गरिन्छ,’उनले भने,‘अघिल्लो पटक खाद्यान्न होम डेलिभरी, तरकारी पसलहरु छुट दिएका थियौ,यसपाली हुदैन ।’ विरामी परेमा एम्बुलेन्स प्रयोग गर्न सकिने र अतिआवश्यक बिषयमा प्रहरी प्रशासनसँग समन्वय गरेर बाधा अड्काउ फुकाउने खतिवडाले बताए । एक साताको लकडाउन कडाई गरेर हेर्ने र त्यसको आधारमा थप गर्ने कि नगर्ने भनेर निर्णय हुने पनि उनले बताए ।

*शिर्षक परिवर्तन गरिएको ।