धरान: प्रदेश सरकारले झापा, मोरङ्ग र सुनसरीको एक एक होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ ।

आज मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिएमसि) प्रादेशिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरहेको र संक्रमितहरुलाई राख्ने आइसोलेसन वेडको अभाव भइरहेको बेला आज सिएमसि बैठकले यो निर्णय गरेको हो ।

बैठकले स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज, रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको भवन र सुनसरीको हरिनगर गाउँपालिका १ स्थित वि. जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम, चतरामा पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । ती ठाउँमा कोभिड १९ को संक्रमण भएको तर लक्षण विहिन व्यक्तिहरुलाई राख्ने गरी सिएसिले निर्णय गरेको जनाएको छ ।

मारवाडी सेवा समाजमा ५० बेड हुनेछ भने रंगेलीको जनता क्याम्पसमा १०० बेड, हरिनगरको वि.जेनरल अस्पतालमा ५० बेड र चतरास्थित आश्रममा १०० बेड क्षमताको आइसोलेसन केन्द्र हुनेछ । यसैगरि, उक्त बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको “लकडाउन खुले पश्चात कोभिड(१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७” स्वीकृत गर्ने निर्णय पनि गरेको पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।