धरान: लकडाउनको कारण कृषि बजारमा स्टक रहेको आलु र प्याजलाई २ दिनभित्र बिक्री गर्न समय दिइएको छ ।

आज(बुधबार) बिहान कार्यपालिका बैठकले निर्णय गरेअनुसार दिउँसो कृषि बजारमा उपमहानगरपालिका, सुरक्षा निकाय, इलाका प्रशासन, व्यापारी, उद्योग वाणिज्य संघलगायतको बैठकले २ दिनभित्र स्टक रहेको आलु र प्याजलाई बिक्री गरिसक्ने निर्णय गरेको हो । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्राईका अनुसार बाहिरबाट तरकारी ल्याउन नदिने तर कृषि बजारमा स्टक रहेको तरकारीलाई भने व्यवस्थापन गर्न २ दिन समय दिने निर्णय भएको हो । ‘कृषिमा आलु र प्याज ठुलो परिमाणमा छ, अझै रहीरहदा कुहिएर खेर जाने भएकोले भोली र पर्सीको समय दिएको छौं,’उनले भने,‘सम्बन्धित वडाले माग गरेअनुसार दामासाहीले त्यो स्टक सामान बिक्री गर्न दिने निर्णय भएको छ ।’

बैठकले निर्णय गरेअनुसार वडा कार्यालयले उपमहानगरपालिकाका अनुगमन अधिकृतमार्फत वडाको लागि आवश्यक आलु र प्याज माग गर्नुपर्नेछ । सम्बन्धित वडाले कुनै व्यापारीलाई व्यवस्थापनको लागि अनुमति दिनसक्नेछ । तर, पसल खोल्न भने पाइनेछैन । कृषि बजारका व्यापारीले लकडाउन अघिको थोक(होलसेल) मुल्यमा नै आलु र प्याज उपलब्ध गराउनुपर्नेछ । अहिले कृषि बजारमा आलु र प्याज मात्र स्टक छ । कृषि बजारका अनुसार आलु १७० टन र प्याज १०० टन स्टक छ । लकडाउन अघि आलुको थोक मुल्य ५२ रुपैया र प्याजको मुल्य ३२ थियो । यही मुल्यमा कृषिबाट बिक्री हुनेछ भने खुद्रामा २० प्रतिशत मुनाफा लिएर मात्र बिक्री गर्न पाउनेछ ।

‘लकडाउन अचानक भएकोले कृषिमा ३ गाडी नासपाती कुहियो, व्यवस्थापनको लाग समय नै दिइएन । व्यापारीहरुले यो क्षति भएको बिषयमा पनि कुरा उठाए,’व्यवस्थापक भट्टराईले भने । बैठकमा उपमेयर मञ्जु भण्डारी, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरीका डिएसपी, सशस्त्र प्रहरीका डिएसपी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, कृषि बजार सञ्चालक समिति र व्यापारी प्रतिनिधिहरु सहभागी थिए ।