धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ ।
आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहेकोले सुनसरी जिल्लालाई निषेक्षित क्षेत्रको समय थप गरिएको हो । ‘भदौ ७ गते राती १२ बजेसम्म जिल्लालाई निषेक्षित क्षेत्र जारी राख्ने निर्णय भएको छ,’प्रजिअ पोखरेलले भने,‘मोरङ, सप्तरीमा संक्रमण बढ्दो छ । हामी भारतसँग खुला सिमाना जोडिएको जिल्ला हो, र भारतमा पनि संक्रमण बढीरहेकोले थप गरिएको हो ।’
डिसिसिएमसिको निर्णयअनुसार अत्यावश्यकबाहेक हिडडुल गर्न, आवतजावत गर्न पाइने छैन भने अत्यावश्यक सेवाबाहेक सम्पुर्ण हाटबजार, पसल सञ्चालन गर्न पनि निषेध गरिएको छ । ढुवानी तथा अन्त्यावश्यकबाहेक कार, बस, जिप, माइक्रो, म्याजिक, इ रिक्सा, मोटरसाइकललगायत सबै सवारीसाधन पनि सञ्चालन गर्न रोक लगाइएको छ । खाद्यान्न तथा निर्माण सामग्री ढुवानी साधनले स्वास्थ्य प्रोटोकल पालना गरि सञ्चालन गर्न पाइनेछ । यस्तै, बैक तथा बित्तिय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द हुनेछ ।
धरानमा दुध र तरकारी खोल्न भनेको छुँ: प्रजिअ
डिसिसिएमसि बैठकले निषेक्षित क्षेत्र कायम गर्दा अत्यावश्यक वस्तुमा भने रोक नलगाउने निर्णय गरेको छ । अत्यावश्यक बस्तुमा खाद्यान्न, तरकारी र दुध पनि पर्छ । तर, धरानमा उपमहानगरपालिकाले लकडाउन गर्दा खाद्यान्न, दुध र तरकारीलाई पनि आयात गर्न, बिक्रीको लागि पसल खोल्न निषेध गरेको छ ।
प्रजिअ पोखरेलले डिसिसिएमसिले दुध, तरकारी, खाद्यान्नको ढुवानी, बिक्रीमा भने निषेध नगरिएको बताउँछन् । सोही अनुसार जिल्लाको अन्य गाउँ तथा नगरपालिकाहरुमा दुध र तरकारीमा रोक छैन । ‘धरानमा मात्र हो कडाई । अन्ततिर दुध, तरकारी चलिरहेको छ,’प्रजिअ पोरखेलले भने,‘हुन त संक्रमण फैलिने डरको कारणले पनि होला, तर अत्यावश्यक भित्रै पर्छ । मेले मेयरलाई भनिरहेको छुँ, उहाँले खोल्छौं, यसबारे निर्णय गछौं भन्नुभएको छ ।’