धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ ।

उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर्दा धरानभित्र उत्पादन भएको दुध र तरकारी मात्र आफ्नो ग्राहकको घरमा पुर्याउन दिने निर्णय गरेको थियो । यो निर्णय हुँदा धरानको वडा ४, ५, ६, १४ र २० नम्बरमा गाइ पालक किसानहरुको घरमा उत्पादन भएको दुध बजार क्षेत्रमा पुर्याउन सहज भएको छ । तर माग अत्यधिक भएको कारण उपभोक्ताहरुले पर्याप्त मात्रामा दुध पाउन सकिरहेका छैनन् ।

बिशेष गरि विरामी, बालबालिका र वृद्धवृद्धाहरुलाई दुध अतिआवश्यक छ । तर, धरान बाहिरबाट दुध आउन नपाउदा अहिले ती सबैले दुध पाइराखेका छैनन् । धरानमा भरौल, कालाबञ्जार, चक्रघट्टी, तरहरालगायत क्षेत्रबाट बिहानै दुध बोकेर किसान तथा व्यापारीहरु घर घरमा पुर्याउन आउथे भने डेरीको उत्पादनले पनि धरानको दुधको मागलाई थेगिरहेको थियो । तर, कोरोना संक्रमण फैलिन नदिन भन्दै बाहिरको दुध ल्याउन रोक लगाएको कारण अहिले धरानमा दुधको हाहाकार छ । धरान १२ चतरालाइनस्थित दुध खरीद बिक्री केन्द्रका प्रोपाइटर नारायण आचार्य भन्छन्,‘म अरुबेला दिनमा १५ सय लिटर दुध बेच्थे, अहिले ३, ४ सय लिटर मात्र हुन्छ । धेरै नै समस्या भइरहेको छ ।’

milk-dhr

आचार्यका अनुसार विरामी, बालबालिका र वृद्धवृद्धा भएको घरमा दुधको ठेक्का नै थियो । त्यसैले धरान १४ विजयपुर, रामपुर, चक्रघट्टी, बेलबारीलगायत ठाउँबाट दुध संकलन गरेर आयात गरि उनले ग्राहकहरुलाई उपलब्ध गराउथे । अहिले सबैलाई दुध पुर्याउन नसक्दा उनी खिन्न छन् । धरान १४ को घरहरुबाट र वसन्तटारबाट मात्र ल्याएको दुध जम्मा गरेर बिक्री गरिरहेको उनले बताए । ‘रोग सर्छ भन्ने कुरामा म पनि सजग नै छुँ, तर दुध त रोगी, विरामीहरुलाई नै आवश्यक हुन्छ । दुध नखादा बालबालिका, वृद्धवृद्धाहरुलाई रोगले सताउछ,’ उनी भन्छन्,‘मलाई नाफा चाहिएको होइन, आफ्नो ग्राहकलाई राहत दिन पाए हुन्थ्यो । म संकलन केन्द्रबाट सिधै यहाँ ल्याएर दुरी कायम गरेर बेच्थे, नगरपालिकाले नाका सहज बनाइदिए हुन्थ्यो ।’

milk-line

आइतबार बिहान आचार्यको पसलमा दुध लिन आउनेहरुको थुप्रै थिए । झण्डै ३ घण्टा लाइनमा उभिएर दुध लिनु परेको धरान ११, सयपत्री चोकमा एक ग्राहकले बताए । उनले बालबालिका, वृद्धवृद्धाहरुलाई दुध आवश्यक भएकोले प्रत्येक वडामा नै दुध वितरणको व्यवस्था गर्नुपर्ने पनि सुझाव दिए । ‘वडा वडामा दुध वितरणको व्यवस्था गरिदिए भिडभाड पनि कम हुन्थ्यो, जोखिम पनि कम हुन्छ,’उनले भने । धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरान भित्रको दुधलाई मात्र बिक्री गर्न छुट दिने निर्णय भएकोले धरान बाहिरबाट आयातमा रोक लगाएको बताए । ‘संक्रमणलाई भित्रिन नदिन धरानभित्रको दुधलाई मात्र बिक्री गर्न पाइन्छ, त्यो पनि यसरी भिड जम्मा गरेर पाइदैन,’उनले भने ।

भिडियो: