धरान: धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ ।

आज बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको हो । बैठकले बिहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने पनि निर्णय गरेको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । उनका अनुसार यो निर्णय भोली(बुधबार) देखि नै लागु हुनेछ । ‘व्यापाक जनगुनासो आएकोले तरकारी, दुध र खाद्यान्न पसल बिहान ८ बजेसम्म खोल्न दिने र यो भोलीदेखि नै लागु गर्ने भन्ने छ,’उनले भने ।

नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरीद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउनेछन् । तर, भानुचोकको सब्जी बजार र धरान ३ को पालिका तरकारी बजार भने नखोल्ने निर्णय भएको छ । सामाजिक दुरी तथा स्वास्थ्यको मापदण्ड पुरा गर्नुपर्नेछ । धरानबाहिरबाट तरकारी, दुध पनि बिहान ८ बजेभित्र ल्याउन दिने निर्णय भएको छ । व्यापारीहरुले कृषि बजारबाट तरकारी किनेर बेच्न लैजान पाउनेछन् । ‘धरान बाहिरबाट सामान ल्याउदा सेनिटाइज गर्ने र विदेशबाट आउनेहरुलाई पिसिआर अनिवार्य गरेको हुनुपर्ने भन्ने निर्णय भएको छ,’अध्यक्ष कटवालले भने ।