धरान: धरान १३ स्थित कृषि बजार बुधबार बिहानदेखि ४ घण्टा खुल्ने भएको छ ।
धरान उपमहानगरपालिकाले लकडाउन एक साताको लागि थप गर्दै खाद्यान्न, तरकारी र दुधको बिक्रीवितरण बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै कृषि बजार पनि सञ्चालनमा आउने भएको हो । कृषि बजार बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र खुल्नेछ । यो समयमा धरानका खुद्रा व्यापारीहरुले कृषिजन्य उत्पादन तथा फलफूल खरीद गर्न कृषि बजारमा पाउनेछन् । तर, जो कोही व्यापारीहरुले होलसेल(थोक) मुल्यमा तरकारी किन्न भने पाउने छैनन् ।
कृषि बजार व्यवस्थापन समितिका अनुसार नगरपालिकामा व्यवसाय दर्ता भएका तरकारी तथा फलफूल व्यवसायीहरुले मात्र कृषि बजारबाट लकडाउन अवधिमा तरकारी खरीद गर्न पाउनेछन् । व्यवसाय दर्ता नभएको व्यापारीले भने कृषि बजारमा गएर थोक व्यापारीसँग विगतमा जस्तो तकारी किन्न नपाउने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ‘कृषि बजार बुधबार बिहानदेखि सञ्चालनमा आउछ, तर हरेक दिन बिहान ४ बजेदेखि ८ बजेभित्र मात्र खुला हुन्छ,’व्यवस्थापक भट्टराईले भने ।
बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटवालका अनुसार नगरपालिकामा व्यवसाय दर्ता भएका र कर तिरेका व्यापारीहरुलाई सम्मान स्वरुप पनि यस्तो निर्णय भएको हो । ‘ज जसले व्यवसाय दर्ता गरेर कर तिरेका छन्, उनीहरुलाई सम्मान पनि हुन्छ,’उनले भने,‘भानुचोकको सब्जी मण्डी, पालिका बजारको तरकारी बजार बन्द नै हुन्छ, त्यहाँका दर्ता भएका व्यवसायी साथीहरुले पायक पर्ने वडा, टोलमा लगेर तरकारी बेच्न पाउनुहुन्छ ।’ खुद्रा व्यापारीहरुले पनि बिहान ८ बजेसम्म मात्र तरकारी बेच्न पाउनेछन् । कृषि बजारमा तरकारी वा फलफूल खरीद गर्न जाने व्यवसायीहरुले व्यवसाय गर्ने प्रमाण पत्रको सक्कल प्रति नै लिएर जानुपर्नेछ । यस्तै, माक्स र पञ्जा अनिवार्य लगाउनुपर्नेछ भने दुरी पनि कायम गर्नुपर्ने कृषि बजारले जनाएको छ ।