धरान: धरान १३ स्थित कृषि बजार आजदेखि बिहान ८ बजेसम्म सञ्चालनमा आएको छ ।

धरान उपमहानगरपालिकाले तरकारी, खाद्यान्न र दुधलगात अत्यावश्यक वस्तुको बिक्री बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरे पछि आजदेखि कृषि बजार पनि सञ्चालनमा आएको हो । कृषि बजारमा बिहान ४ बजेदेखि ८ बजेसम्म हरियो तरकारी तथा फलफूल थोक(होलसेल) मुल्यमा बिक्री भएको थियो ।बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आज बिहान २५ टन मात्र हरियो तरकारी बिक्री भयो ।

लकडाउनको बीचमा बजार खुलेको हुनाले किसानहरुबाट हिजो थोक व्यापारीले धेरै तरकारी मगाउन समय नपाएकोले आज थोरै मात्र कारोबार भएको उनले बताए । '२५ टन जति मात्र सागसब्जी थियो, त्यति नै कारोबार भयो,'भट्टराईले भने,'औसतमा अरु बेला सय टन कारोबार हुन्थ्यो ।' आजदेखि धमाधम तरकारी मगाउन शुरु भएकोले भोलीदेखि कारोबार बढ्ने उनले बताए ।

krisiko

कृषि बजारबाट खुद्रा व्यापारीहरुलाई तरकारी तथा फलफूल व्यवसाय दर्ता गरेकाहरुलाई मात्र तरकारी बिक्री गरिएको थियो । त्यसैले पनि आज कृषि बजारमा खरीद गर्न आउने व्यवसायीहरु थोरै भएका थिए । धरानमा तरकारी तथा फलफूल व्यवसाय गर्नेहरु अधिकांश नगरपालिकामा दर्ता भएका छैनन् । यद्यपी, डोकोमा तरकारी डुलाउनेहरुलाई पनि व्यवसाय दर्ता नभएको भए पनि तरकारी दिएर पठाएको भट्टराईले बताए । 'जसको व्यवसाय दर्ता छैन, तर डोकोमा बेच्दै हुनुहुन्छ, उहाँहरुको अवस्था हेरेर डोको लिएर आउदा तरकारी दिएर पठायौं,'उनले भने ।