धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिहान करिब ९ बजेदेखि भेला भएर अस्पताल प्रशासनमा पुगेका गाइनो विभागका नर्सहरुसँग ४ घण्टा बितिक्सदा पनि वार्ता जारी छ । उनीहरुले फ्रन्टलाइनमा कार्यरत नर्सहरुको जीवनसँग पदाधिकारीहरुले खेलवाड गरिरहेको पनि आरोप लगाएका छन् ।

एक स्टाफ नर्स सफला बुढाथोकीले शंकास्पद विरामीलाई वार्डमा राखेर स्वास्थ्यकर्मीहरुलाई जोखिममा पारेको बताइन् । उनले मास्क माग गर्दा पनि छैन भन्ने गरेको र आफैले किनेर लगाउनु परेको बताइन् । ‘शंकास्पद विरामीलाई पनि वार्डमा राखिन्छ, हामीलाई मास्क देऊ न भन्दा पनि छैन भन्छन् । आफैले किनेर लगाइराखेका छौं,’उनले भनिन्,‘घरमा जादा मास्क नलगाउनु, पकेटमा राख्नु भन्छ । के हामी मुख खुला नै राख्नु ?’

bp-nurse2

वार्डमा राखिएको विरामी कोरोना पोजेटिभ देखिए पछि क्वारेन्टिनमा जान्छौं भन्दा पनि नदिएको नर्सहरुको गुनासो छ । साथै, संक्रमित रहेको क्षेत्र सिल गर्न आग्रह गर्दा पनि नभएको उनीहरुको गुनासो छ । ‘क्वारेन्टिनमा जान्छौं, सिल गरिदिनु भन्दा पनि निर्णय गरेनन्,’नर्स बुढाथोकीले भनिन्,‘बालबच्चा, परिवार भएकै ठाउँमा गयौं । क्वार्टरमा पानी आउदैन, पानी लिन जादा यिनीहरु आयो भनेर औला उठाउछन् ।’

bp-nurse4

प्रतिष्ठानमा कोभिड अस्पताल, आइसोलेसन वार्ड भएर पनि शंकास्पद विरामीहरुलाई वार्डमा राखेर सबैलाई जोखिममा पारेको उनीहरुले बताए । कोरोनाको शंकास्पद विरामी भए सिधै कोभिड अस्पताल वा आइसोलेसनमा लैजानुपर्ने उनीहरुको माग छ । यस्तै, नर्सहरुले सुरक्षितरुपमा डिउटी गर्न पाउनुपर्ने माग अस्पताल प्रशासनसँग राखेका छन् । साथै, उनीहरुले कोरोनाको बेला पनि काम गरिरहेकाहरुलाई प्रोत्साहन भत्ता नदिएर विभेद गरेको बताएका छन् । अस्पताल प्रशासनले क्वारेन्टिनमा बस्नेहरुलाई मात्र भत्ता दिने भनेकोले अन्याय गरेको उनीरुको भनाई छ ।

bp-nurse bp-nurse3 bp-nurse1