जुगौंदेखि पहाड जस्तै अटल अटल बसिरहेछु
वियोगका अथाह पीडा आँखाबाट धोईरहेछु
पीर पखाल्ने त्यही आँशु सुक्नुभन्दा अघि तिमी आऊ
मनको चरी दूर-देश कट्नुभन्दा अघि तिमी आऊ

माथि उल्लेखित हरफहरू अतृप्त प्रेमको आग्रह मिश्रित रोदन हो भन्दा फरक नपर्ला । यसमा प्रेमप्रतिको आशक्तिलाई जोडदार ढंगले अभिव्यक्त गरिएको छ । हरफहरू 'यो रमाईलो मौसम..' शीर्षक रहेको गीतको केही अंशहरू हुन्। रमेश नामहाङको शब्द अनि बिक्रम राईको संगीत र स्वरमा बनेको यो गीत भर्खरै युट्यूव मार्फत पुनः रिलिज भएको छ ।

शब्दकार एवम् प्रस्तुतकर्ता रमेश नामहाङले आफ्नो आधिकारिक युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् । सरल शब्दलाई खेलाएर निक्कै गहन अर्थ अभिव्यक्त गर्न रुचाउँछन् शब्दकार । यसमा उनी सफल छन् । अहिले पछिल्लो पुस्तामा देखिएको राम्रो प्रतिभा हुन बिक्रम राई । उनी गाउने मात्र होईन, संगीत पनि आफै गर्न सक्छन् । यो गीतमा उनले प्राण भरेरै संगीत भरेका छन भने उत्तिकै सशक्त ढंगले गाएका पनि छन् ।

फणिन्द्र राईको संगीत संयोजन रहनु यो गीतको अर्को सशक्त पाटो हो । संगीतको धून मात्रै पनि मिठो छ । गीतलाई युगल पोमो लिम्बुले निक्कै सुन्दर ढंगले भिडियोमा उतारेका छन । सम्पदा बानियाँ र अनिल थापाको जोडी गीतमा सुहाएको छ ।