धरान: भदौ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमति डेलिभरी गराउन सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साह अहिले चिन्तामा छन् । उनलाई श्रीमति र बच्चाको स्वास्थ्य भन्दा पनि डेलिभरी गराउदाको औषधीको बिलले चिन्तित बनाएको हो ।

औषधी व्यवसायीहरुका अनुसार नर्मल डेलिभरी गराउदा बढीमा ३ हजार खर्च हुन्छ । उनको श्रीमति पनि नर्मल डेलिभरी नै भएकी हुन् । तर, धरान १८, वीपी प्रतिष्ठान बाहिर रहेको मिथिला मेडिकल हलले भने उनको श्रीमतिको डेलिभरीको बिल २१ हजार १ सय १४ रुपैया उनलाई थमाएको छ । उनलाई यति धेरै खर्च भयो भन्ने लाग्दैन । उनी भन्छन्,‘४ घण्टामा नर्मल डेलिभरी भइहाल्यो । बिहान ३ बजेतिर बिल २१, २२ हजार देखायो ।’

अहिले यो घटना औषधी व्यवसायी संघ सुनसरी जिल्ला र नगर कमिटिसम्म पुगेको छ । संघका पदाधिकारीहरु पनि केही मेडिकलको ठगी धन्दाले गर्दा समग्र मेडिकल पसलहरु वद्नाम हुनु परेको भन्दै आक्रोशित छन् । संघका धरान ईकाई सचिव परवेज आलम नर्मल डेलिभरी बढीमा ३ हजार खर्च हुने बताउँछन् । तर, साहको विल २१ हजार १ सय १४ को विल देख्दा अचम्मित भएको बताउँछन् । ‘विरामीसँग पैसा हुदैन, ऋण लिएर, खेत बेचेर आएको हुन्छ । यस्ता विरामीलाई ठगी गर्नु डकैतीभन्दा पनि ठुलो अपराध हो,’उनले भने,‘एउटा, दुईटा मेडिकलले गर्दा घोपा क्याम्प अघिको मेडिकलहरु वद्नाम हुन्छ, नराम्रो छाप पर्नजान्छ । यथार्थ पत्ता लगाएर सम्बन्धित निकायले कारबाही गरोस् ।’

medical-ko

सञ्जयकुमार साहसँगै औषधी व्यवसायी संघ सुनसरीका सचिव पंकज झा र संघका धरान ईकाई सचिव परवेज आलम ।

उनका अनुसार यसअघि ३० रुपैया पर्ने एक स्ट्रिप फ्लाक्सन ट्याब्लेटको २४० रुपैयाको बिल बनाएर ठगी गरेको भेटिएको थियो । घोपा अघिको केही मेडिकलले यसरी ठगी गरेपनि सम्बन्धित अनुगमन गर्नुपर्ने निकायले नगर्नुमा कमिशन पुगेको हो कि भन्ने उनले आशंका पनि व्यक्त गरे । औषधी व्यवसायी संघका सुनसरी जिल्ला सचिव पंकज झाले केही मेडिकलहरुले २५, ३० प्रतिशत छुट भन्ने तर बिल भने धेरै बढाएर ठगी गरिरहेको बताए ।

अहिले कोरोनाले ओपिडी बन्द भएपछि गाइनोको डेलिभरी, अप्रेसन हुने विरामीलाई १० गुण बढी पनि औषधीको बिल बनाएर ठगी गरिरहेको उनको भनाई छ । ‘६ महिना यता कोभिडको बेलाको प्रत्येक मेडिकलको बिल चेक गर्ने हो भने छर्लंग हुन्छ,’उनले भने,‘यसमा गाइनोको २, ४ जना गार्ड, हेल्पर मिलेका छन् । कर्मचारीको मेडिकल बाहिर छ । आफ्नो पदको दुरुपयोग गर्दै बिरामीको पुर्जा खोसेर म ल्याइदिन्छु, गर्दिन्छु भन्छन् ।’

medic

युनिक फार्मेसीका सञ्चालकसमेत रहेका सचिव झाका अनुसार प्रयोग नभएको सेरोलोजिक किट ५ वटाको बिल मिथिला मेडिकलले बनाएको छ । उनले यो बिषयमा आवश्यक अध्ययन गरेर विरामीलाई न्याय दिलाउने बताए । मिथिला मेडिकलका सञ्चालक सञ्जयकुमार यादव भने आफुले वीपीबाट माग भएअनुसारकै औषधी दिएर पठाएको र सोही अनुसार नै बिल बनाएको दाबी गर्छन् । बच्चा जन्मनुबित्तिकै एनआइसियुमा राखेको कारणले पनि बिल धेरै भएको उनले बताए । ‘एनआइसियुमा बच्चा छ । बच्चा जन्मनु बित्तिकै लगेको हो । उहाँले साइन गरेर नै औषधी लगेको छ,’उनले भने । 

medi

medi3