धरान: नर्मल डेलिभरी गराउदा औषधी लगेको बिल अत्यधिक बनाएर ठगी गर्ने धरान १८ स्थित मिथिला मेडिकल हलले पीडितले तिर्न बाँकी रहेको रकम नलिने सर्तमा घटना मिलाइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले बाँकी रहेको ११ हजार १ सय १४ रुपैया नलिने सर्तमा मिलाइएको हो । औषधी व्यवसायी संघ जिल्ला र नगरको पदाधिकारी, प्रतिष्ठान बाहिरका औषधी व्यवसायीहरुसहित शुक्रबार छलफल भएको थियो । उक्त छलफलमा मिथिलाका सञ्चालकले पहिलो चोटी हो, फेरि यस्तो गल्ती दोहोरिदैन भनेर आग्रह गरेपछि पीडितसँगै राखेर मिलाइएको औषधी व्यवसायी संघ धरान ईकाईका सचिव परवेज आलमले जानकारी दिए । ‘अरु औषधीहरुको विल ठिकै थियो, तर ५ वटा सेरोलोजी किट लगिएको होइन कि भन्ने कुरा भयो । समग्रमा केही गल्ती देखियो,’उनले भने,‘पहिलो चोटी हो, यस्तो फेरि हुदैन भनेर आग्रह गरेपछि बाँकी पैसा नलिने सर्तमा मिलाइयो ।’

भदौ ४ गते सप्तरीको राजगढ गाउँपालिकाबाट आएकार शम्भुकुमार साहको श्रीमति नर्मल डेलिभरी भएकी थिइन् । उनको नर्मल डेलिभरीमा ४ घण्टाभित्रै भएको थियो । त्यसअवधिमा मिथिला मेडिकलबाट लगेको औषधीको बिल २१ हजार १ सय १४ रुपैया बनेको थियो । जबकी अन्य मेडिकल सञ्चालकहरुले नै नर्मल डेलिभरी गराउदा बढीमा ३ हजार खर्च हुने बताइरहेका छन् । साहले १० हजार रुपैया भने एडभान्स दिएका थिए, र तिर्न बाँकी ११ हजार १ सय १४ रहेको थियो ।

औषधीमा ठगीबारे कुरा उठाउदा दबाब आयो: झा

medi3

मिथिला मेडिकलले ठगी गरेको बिषयमा चर्काेरुपमा आवाज उठाउने व्यक्ति हुन्, औषधी व्यवसायी संघ सुनसरीका सचिव पंकज झा । उनको पनि मेडिकल पसल छ । केही मेडिकलहरुले ठगी धन्दा चलाएर वीपी बाहिरका अन्य सबै मेडिकलहरुको वद्नाम गरेकोले ठगी गर्नेहरुविरुद्ध आवाज उठाएको उनको भनाई छ ।

हिजो मिथिला मेडिकलले गरेको ठगीबारे मिडियासम्म किन पुगेको भन्दै धेरै तिरबाट दबाब आएको उनले बताए । ‘मिडियालाई किन खबर गरिस् भनेर धेरैतिरबाट प्रेसर आयो । राजनीतिक दलका नेताहरुबाट पनि मिडियामा नजाऊ, समाचार नछाप्नु भनिदेऊ भनेर दबाब आयो,’झाले भने,‘तर मैले त्यस्तो हुदैन भने । ठगी गर्ने मेडिकलहरुको ठुलो समुह छ, विरोध गर्नेहरुलाई टिक्न गाह्रो बनाउछ ।’ उनले पनि मिथिलाको सञ्चालकले ‘अब जे हुनु भयो, सुध्रने मौका दिनुस्’ भनेकोले व्यवसायी र पीडितसँग छलफल गरेर तिर्न बाँकी रकम नलिने सर्तमा मिलेको पनि बताए ।