धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल प्रमुख प्रा.डा.कृष्ण पोखरेलले राजिनामा दिएको घटनामा अनावश्यक दबाब नदिएको प्रष्टीकरण दिएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले आज प्रेश विज्ञप्ती जारी गर्दै डा.पोखरेलले राजिनामा दिएको सत्य भएको स्वीकार गरे पनि उपकुलपतिद्धारा खरिदमा अनावश्यक दबाब भने नदिएको दाबी गरिएको छ । प्रतिष्ठानमा औषधी खरिद गर्ने अधिकार रजिष्ट्रार र अस्पताल निर्देशकमा रहने उल्लेख गर्दै विज्ञप्तीमा चेतावनी शैलीमा भनिएको छ,‘एक पक्षीयरुपमा लेखिने समाचारले प्रतिष्ठान र सञ्चारमाध्यमबीचको सुमधुर सम्बन्धमा दरार पैदा हुनसक्ने परिस्थितिलाई आवश्य नै मनन् गर्नु नै हुनेछ भन्ने जानकारी गराउन चाहन्छुँ ।’

कोभिड अस्पताललाई शुन्यबाट सञ्चालनको अवस्थामा ल्याएकी डा.पोखरेलले अचानक राजिनामा दिएकी थिइन् । उनको राजिनामाबारे थुप्रै अडकलबाजी भइरहेको छ । उनलाई औषधी खरिदमा माग फारमभन्दा बाहिरको औषधी किनेर पछि माग फारममा हस्ताक्षर गर्न दबाव दिइएकोलगायत कारणले राजिनामा दिएको बताइएको छ । यद्यपी, प्रतिष्ठानले भने यसको खण्डन गरेको छ । 

६ सदस्यीय टोलीले स्टाफ नर्सको अन्तर्वाता

प्रतिष्ठानले कोभिड महामारीसँग जुध्नको लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले ५० जना स्टाफ नर्सहरु लिनको लागि अन्तर्वाता लिइरहेको छ । स्टाफ नर्सहरुको चयन प्रक्रियाबारे धेरै प्रश्नहरु उठिरहेको भन्दै प्रतिष्ठानले अन्तर्वाताको लागि ६ सदस्यीय टोली गठन गरिएको जनाएको छ । अन्तर्वाता लिनको लागि उपकुलपति, रेक्टर, रजिष्ट्रार, अस्पताल निर्देशक, कलेज अफ नर्सिङ चिफ तथा मेट्रोन सम्मिलित ६ सदस्यीय टोलीले अन्तर्वाता प्रक्रिया अघि बढाइरहेको विज्ञप्तीमा जनाइएको छ ।press-bp