धरान: राज्यको सम्पुर्ण ध्यान कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत भइरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुखले भने राजिनामा दिएकी छिन् ।

अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष राजिनामा दिएकी हुन् । कोभिड अस्पताललाई शुरुवातदेखि प्रमुखकोरुपमा नेतृत्व प्रदान गरेकी डा.पोखरेलको राजिनामा आउनु दुःखद भएको प्रतिष्ठानका अन्य चिकित्सकहरुको भनाई छ । पोखरेलले केही मिडियालाई दिएको प्रतिक्रिया अनुसार काम गर्ने निर्वाधरुपमा काम गर्ने वातावरण नभएकोले राजिनामा दिएको बताएकी छिन् ।

यद्यपी, अस्पतालको औषधी खरिदमा अनावश्यक हस्तक्षेप र दबाब परेकोले डा.पोखरेलले अस्पताल प्रमुखबाट राजिनामा दिएको बताइएको छ । अस्पतालको माग फारमभन्दा बाहिरको र म्याद गुज्रिन लागेको औषधी खरिद गरिएको बिषयमा डा.पोखरेल असन्तुष्ट रहेको अन्य चिकित्सकहरुको भनाई छ । उनलाई नयाँ माग फारम भरेर हस्ताक्षर गर्न व्यवस्थापन पक्षबाट दवाब परेको स्रोतको भनाई छ । डा.पोखरेल एनेस्थेसिया विभागकी प्रोफेसर हुन् । 

प्रतिष्ठान स्रोतका अनुसार गएको सिनेट बैठक अघि पुर्णतयारी नभएको कोभिड अस्पतालमा विरामी राखेर सञ्चालन गर्न उपकुलपति गिरीले दबाब दिएको र विरामी नराखे कारबाही गर्ने व्यवहोराको पत्रसमेत पठाएका थिए । ‘अहोरात्र कोभिड अस्पताल तयारीमा जुट्नुभएको थियो, तर पुर्णरुपमा तयार भएर मात्र संक्रमित राख्ने उहाँको अडान थियो,’एक चिकित्सकले भने,‘तर भिसिलाई काठमाण्डौंमा सिनेट बैठकअघि कोभिड अस्पताल सञ्चालनमा छ भन्ने देखाउनुपर्ने भएपछि संक्रमित नराखे कारबाही गर्ने व्यहोराको पत्र आयो । त्यसपछि नै डा.पोखरेलले काम गर्ने इच्छा मार्नुभएको हो ।’

चकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज, वीपी प्रतिष्ठानका अध्यक्ष डा.विष्णु पोखरेलले कोभिड अस्पताललाई शुन्यबाट सञ्चालन हुने अवस्थामा ल्याउने प्रमुखले राजिनामा दिने अवस्था आउनु राम्रो नभएको टिप्पणी गरे । ‘कोभिड अस्पताललाई यहाँसम्म ल्याउन उहाँको ठुलो योगदान छ, अहिले शुरु भएको बेला किन राजिनामा दिनुभयो, अचम्म लागेको छ,’अध्यक्ष पोखरेलले भने,‘उहाँ इमान्दारपुर्वक काम गर्ने मान्छे हो, प्रतिष्ठानले सम्मान गर्नुपर्ने बेला किन यस्तो भयो ?’

राजिनामा दिएको बिषयमा डा.पोखरेलसँग सम्पर्क प्रयास गर्दा हुन सकेन । उनको मोवाइल स्विच आफ थियो । प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई सम्पर्क गर्दा उनले पनि मोवाइल उठाएनन् । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले भने औपचारिकरुपमा राजिनामा दिएकोबारे जानकारी नपाएको बताए । ‘मैले पनि राजिनामा दिनुभयो भन्ने सुनेको छुँ, औपचारिकरुपमा जानकारी पाएको छैन,’डा.रेग्मीले भने,‘शुरुदेखि नै उहाँ र टिमले एकदमै राम्रो काम गर्नुभएको हो, उहाँको योगदान अतुलनिय छ ।’