धरान: प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोनाले निम्त्याएको त्रासले समाजमा मानवीयतामा ह्रास आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आइतबार जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभामुख भण्डारीले कोरोनाकै कारण मानिस मरिहाल्छ भन्ने त्रास फैलिएकोले यसलाई चिर्नुपर्ने धारणा व्यक्त गरे । उनले कोरोनाविरुद्ध सबै एकतावद्ध भएर लड्न आग्रह गर्दै भने,‘जनजीवनलाई आतंकित हुने स्थिति बनाउनु भन्दा न्युनीकरण गर्दै नियन्त्रणको लागि, जोखिमलाई काम गर्न योजनावद्धढंगले अघि बढाउनुपर्छ ।’

सभामुख भण्डारीले कोरोनाबाट संक्रमित व्यक्तिलाई समाजबाट भइरहेको हेला, तिरस्कारप्रति पनि गम्भीर चिन्ता प्रकट गरे । संक्रमितहरुलाई घरमा, डेरामा बस्न नदिने सँस्कार विकास भइरहेकोले त्यसलाई न्युनीकरण गर्न सबैको भुमिका महत्वपुर्ण हुने उनले बताए । ‘समाजबाट तिरस्कृत हुने, बस्न नदिने अवस्था जुन विकास हुदैछ, यसविरुद्ध न्युनीकरण गर्न महत्वपुर्ण भुमिका खेल्नुपर्ने आवश्यकता छ,’सभामुख भण्डारीले भने,‘परिवारका सदस्यहरुलाई पनि निको भएर फर्किदा घरमा आउन नदिने, छिमेकीहरुले बस्न नदिने यो हाम्रो बुझाईमा, चेतनामा कमी छ ।’

प्लाज्मा थेरापी उपचार गर्नको लागि कोरोना निको भएका व्यक्तिकै रगत बहुमुल्य हुने भन्दै सभामुखले यस्तो सँस्कार परिवर्तन गर्न पनि आग्रह गरे । धरानकै लक्ष्मी चोकमा कोरोना निको भएर वीपी प्रतिष्ठानबाट आएका व्यक्तिलाई डेरामा बस्न नदिएको घटना उनले उल्लेख गर्दै भने,‘प्लाज्मा थेरापीको लागि रगत औषधीकोरुपमा हुने तर उसलाई चै अपहेलित गर्ने । यही लक्ष्मी चोकमा पनि निको भएका मान्छे बस्न पाएनन् । २१, २२ दिनसम्म वीपीमा बसेर कोरोना मुक्त भएर आए, तर डेरा छोड्नुपर्यो । बस्न पाएनन् ।’

redcross1

सभामुख भण्डारीले इटहरीमा डेरामा बसेका एक प्रदेशसभा सदस्यलाई पनि संक्रमण भएको र उपसभामुखलाई घरपतिलाई सम्झाउन आग्रह गरेपछि सहजीकरण गरिएको स्मरण गरे । विपद नियन्त्रणमा सर्वसाधारण नागरिकहरुको पनि महत्वपुर्ण भुमिका हुने भन्दै सभामुख भण्डारीले स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्डहरुको पालना गर्दै कोरोनाको विपत्तिबाट उन्मुक्ति पाउन सचेत पहल हुने अपेक्षा पनि व्यक्त गरे । ‘कोरोना लाग्नुबित्तिकै मान्छे मरिहाल्छ भन्ने, कोरोना लागेको मान्छे समाजमा हुदै हुदैन, तर्केर हिड्नुपर्ने, यो जुन खालको अतिरञ्जित तरिकाले विकास भएको छ, त्यसलाई चिर्न सकिएन भने मानवीय विकास हुन सक्दैन,’सभामुख भण्डारीले भने । उनले आफ्नै छोरालाई पनि कोरोना संक्रमण देखिएको स्मरण गर्दै उनले वीपीमा लगेको र औषधी केही पनि खान नपरेको बताए ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, दुहबीका मेयर वेदनारायण गच्छदार, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसादलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम तथा विमोचन गरिएको पुस्तकमाथि रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रकाश पारेका थिए । सभापति थापाले सबै स्थानीय तहहरुमा समन्वय गरेर पुस्तक तयार गरि विमोचन गरिएको बताए ।

साथै उनले प्रतिकार्य योजनाले विपत जानुअघिको पुर्वतयारी र विपद गइसके पछिको उद्दार तथा राहत कार्यको समुच्च किताबकोरुपमा रहने पनि उनले बताए । 'सुनसरी जिल्ला विपतको हिसाबले जोखिममा छ, हरेक बर्ष बाढी, आगलागीको घटनाले जनधनको क्षति पुग्छ,'सभापति थापाले भने,' यो पुस्तक जिल्लामा दिग्दर्शनकोरुपमा रहन्छ । यही किताबलाई अनुसरण गरेर जादा जिल्लाको विपद जोखिम न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सकिन्छ ।' 

भिडियो: