धरान: धरानमा मासुको नयाँ मुल्य निर्धारण गरिएको छ ।
मासु व्यवसायी, डिलर र उपमहानगरपालिकाको प्रतिनिधि सम्मिलित मुल्य निर्धारण समितिले मासुको नयाँ मुल्य निर्धारण गरेको हो । आइतबारदेखि लागु हुने गरि समितिले धरानमा बोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैया कायम हुने निर्णय गरेको छ भने सुँगुरको मासु प्रतिकिलो ३६० रुपैया हुने निर्णय गरेको छ । यस्तै, खसीको मासु प्रतिकिलो ९ सय र राँगाको मासु प्रतिकलो ३५० रुपैया हुने निर्णय गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
धरानमा मासुको मुल्यमा एकरुपता नहुदा उपभोक्ता मारमा परेको गुनासो परेपछि पशु सेवा शाखा प्रमुख महेन्द्र पैकारा संयोजक रहेको ९ सदस्यीय मुल्य निर्धारण समिति गठन गरिएको थियो । सोही बैठक केही समयको लागि बोइलर कुखुराको मासु प्रतिकलो ३२० कायम गरेको थियो । ‘आज मुल्य निर्धारण समितिको बैठक बसेर मासुको नयाँ मुल्य निर्धारणको निर्णय भएको छ,’सापकोटाले भने,‘अर्को बैठकले निर्णय नभएसम्म आइतबारदेखि लागु हुनेछ ।’
समितिको बैठकले मासुको डिलरहरुको स्टक अनुगमन गर्ने पनि निर्णय गरेको छ । अधिकृत सापकोटाका अनुसार बाहिरबाट धरानमा कति कुखुरा भित्रियो, गाडीको मानिस पिसिआर जाँच गरेर आए कि आएनन् भन्ने अनुगमन गरिनेछ ।