भदौरे झरीको बेतमास आवाज, कोरोनाले गर्दा सुनसान रहेका सडकहरु मज्जाले गुञ्जयमान छन् । डाँडा र भीरपाखाको यात्रा पहिरो ठाउँठाउँमा झरेकाले पैदल या साइकलको यात्रा अलिक जोखिमपुर्ण भएको हुँदा आजको यात्रा धरान छेउछाउ रहेका सिमसार क्षेत्रको रहनेछ ।
नेपालमा रहेका सिमसार क्षेत्र मध्ये ९ वटा क्षेत्रहरुलाई रामसार क्षेत्रमा राखिएको छ र त्यस मध्येको एउटा सुनसरीमै रहेको कोशी टप्पु बन्यजन्तु आरक्षित क्षेत्र पनि हो । तर आजको यात्रा कोशीटप्पु नभएर अरु सानातीना सिमसार क्षेत्र रहनेछन् ।
बेलुकी देखिनै अविरल वर्षा भइरहेकोले झरी बिहानसम्मै अनवरतरुपले बर्षीरहेको छ । दिउँसो ११ बजे अलिक आकास खुले पछि झोलामा रेनकोट , टर्चलाइट र केहि खानेकुरा हालेर साइकल यात्रा सुरु गरियो । धरानबाट रेल्वे हुँदै सर्दुखोला पुग्नु २,३ मिनेटअघि दक्षिण ओरालै ओरालो लागेपछि खेतका सुन्दर फाट सुरु हुन्छ । खेत सकिएपछि चारकोसे झाडीको घना जंगल सुरु हुन्छ । यो जंगलमा हात्ती, मृग, बंदेल तथा अन्य जीव जन्तुहरु त बेलाबखत राजमार्गमै पनि देख्न पाइन्छ । सखुवा नै सखुवाले भरिएको यो घना जंगलले यहाँको पर्यावरणमा विशेष भूमिका खेलेको छ । साइकल यात्राको लागि एकदम सुन्दर बाटो रहेको ट्रेल लगभग सुनसान छ । चराचुरुंगीहरुको मधुर संगीत, हावाको मिठो स्पर्श र एकान्त बाटोले गर्दा यो यात्रा अझ आनन्ददायी र मनोरम भइरहेको छ ।
जंगलपारि रहेको गाउँ कालाबञ्जाराबाट त्यहाँका स्थानीयले दुध , चिउरा , दाल , भुजा , लसुन प्याज तथा अन्य कृषिजन्य उत्पादन धरानतिर ल्याउन साइकलको प्रयोग गर्नुहुँदो रहेछ । घरमा उत्पादित वस्तु बजार पुर्याएर फर्किँदा भने साइकलमा एकभारी घास लिएर गएको दृष्य देख्न पाइयो । वहाँहरुसँग भलाकुसारी गर्दै जंगलको यात्रा अघि बढीरह्यो । केहि समय पछि उहाहरु घासको लागि जंगल छिर्नुुभयो भने मेरो यात्रा निरन्तर अगाडी बढिरह्यो । जंगल कटेपछि कालाबञ्जरा पुग्नेबेलामा फेरी एकपटक सर्दुखोलासंग भेट भयो । यो भेट भने त्यति सहज नहोला जस्तो छ । खोलामा पूल भर्खरै बन्न सुरु भएको रहेछ । केहि दिनको अविरल बर्र्षाले खोला ठूलै भएको छ ।
घाँसको बडेमान भारि साइकलमा राखेर खोला तर्न तयार १०, १२ जना देखिनुहुन्छ । जसोतसो वहाँहरुले भारिसहित तरेको देखेपछि हिम्मंत जुटाएर म पनि साइकल काधमा बोकेर डर मानीमानी सर्दु खोला तरेँ । खोला तरेपछि वरपिपल र खेलमैदान सहित गाउँ सुरु भयो । बाटोमा कोरोना कहरसंगै गुर्जो र सालको पात बिछ्याएर ग्राहकको पर्खाइमा रहनुभएको दाइसंग केहीबेरको छलफल पछि नजिकै रहेको अमह ताल तिर लागियो । म यो एकल साइकल यात्रा आफ्नो रमाइलो र अवलोकन भ्रमणको लागि गर्दैछु । तर यहाँको दिनचर्या र भोग्नु परेको समस्याले म आफैलाई लज्जित बनायो ।
म लज्जित छु, जसलाई एडभेन्चरको संज्ञा दिँदै चुनौती सम्झेर दौडिदैछु । त्यो कसैको जिन्दगीको पर्खाल हो जसलाई ऊ भत्काउन चाहन्छ । मेटाउन र पन्छाउन चाहन्छ । त्यो दुःख उसको जिन्दगिको हिस्सा भइसक्यो । तै पनि ऊ छुटिन चाहन्छ । यी बडेमानका घाँसको भारीले उसको जिन्दगी थिचेको छ । खोलाले भविष्य रोकेको छ । टाढाटाढासम्म ऊ देख्दैन सपनाको झिल्को । खोलो गहिरो कि यिनका पीडा ? अनि भारी ठुलाकी यिनका समस्या ? दोबाटोको बिचमा टाउकोमा हात लगाएर सालका पात र गुर्जो बिछ्याएर बसिरहेका यिनले खाली पेट छाम्दै आज सोच्दै होलान् कि भोलि ?
किनारै किनारा १५ मिनेट जतिको यात्रा पछि अमह सिमसार क्षेत्र सुरु भयो । यहाँको ताल केहि मिनेट अवलोकन पछि फेरी पनि खोलाको किनारै किनार अगाडी बढियो । सुन्दर खेतका फाँटहरु र पुराना काठे घरहरुले यहाको गाउँले जीवनको झझल्को दिन्छ । बिजुलीका तार भरि चराचुरुंगी अनि खेतमा माछा खोज्दै हिडेका चराहरुले अझ यात्रा मनमोहक भइ रहेछ । ३० मिनेट जतिको साइकल यात्रा पछि एउटा बर्खरै बनेको बाँसको बडो सुन्दर तथा कलात्मक लाग्ने पुलबाट सर्दु खोला फेरी तरेर ७२ बिघामा प्रवेश गरियो । गाउँ हुदै १५ मिनेट जति अघि बढेपछि शंकर बेली सिमसार संरक्षित क्षेत्रको प्रवेशद्वार पुगियो ।
सायद यहाँ प्रवेश को शुल्क तोकिएको नहुनुपर्छ । इटहरीबाट अलिक पर रहेको तालतलैया क्षेत्र भने प्रवेश शुल्क लाग्छ । त्यस्तै अलिक पर रहेको ६४ बिगाह सिमसार क्षेत्र पनि प्रवेश निःशुल्क रहेको छ । बन्दाबंदिको समय भए पनि मानिसहरुको राम्रै उपस्थिति देखियो । निलोरंगले पोतिएका पोखरी माथि काठे पूलहरु गज्जब सुन्दर देखिने । त्यस्तै पोखरीहरुमा माछा बल्छी थापिरहेको टोलीहरु पनि देखियो । यहाँ बल्छी लिएर आउने हो भने माछा मार्न पाइने रहेछ । तर खासै धेरै र ठूला माछा सायद पोखरीमा छैनन् जस्तो छ । ठूलो क्षेत्रफलमा फैलिएकालेको यो स्थान एकदमै मनमोहक र शान्त रहेको छ ।
तालमा छेउमै रहेका बृक्ष हरुको सुन्दर प्रतिछाँयाले अझ रमाइलो र आनन्दको भाब जागृत हुन्छ । खानेपानीको राम्रो ब्यबस्थापन रहेको छ । नजिकै धेरै धाराहरु छन् । धेरै भौतिक संरचना भन्दा पनि प्राकृतिक रुपमै यो ठाउँलाई सुसज्जित गरिएकाले अझ यो ठाँउको महत्व झल्किएको छ । इटहरी र धरानबाट नजिकै रहेको र गाडी र मोटर साइकलमा सहजै पुग्न सकिने भएकाले पनि अरु सामान्य अवस्थामा भने यो ठाउँ निकै भिडभाड हुने रहेछ । पिकनिकको सिजनमा त खुट्टा राख्ने ठाउँ नै भेट्न गाह्रो हुने स्थानीयले बताए । केहि समयको बसाईपछि फेरी पनि साइकलमा रास ताल ९६४ बिघाहा तिरको यात्रामा लागियो ।
फेरिपनि धानखेत पुराना घरहरु र सुन्दर हरियालीको बीचबाट अगाडी बढ्दै अलिक साँझ पख रास ताल पुगियो । यो सिमसार क्षेत्र अलिक सानो रहेको छ । भर्खरै पोखरीको छेउछाउ बत्ति जोडिएको रहेछ । साँझपख बत्तिको प्रतिछायाले रमाइलो दृष्य देखिरहेको छ । बल्छि लिएर जाल थापिरहेका केटाकेटिहरु एक हुल रहेछन् । तिनिहरुसंगै भलाकुसारी गरेर तरहरा तिरको यात्रामा लगियो । यहाँबाट सिधै उकालो लाग्दा मोटर साइकल , पैदल या साइकलमा सिधै धरानको हरियाली बन पनि पुग्न सकिन्छ । तर कोरोनले गर्दा यो बाटो अहिले बन्द भएकाले फेरी तल तरहरा पुगेर राजमार्ग हँुदै धरानको यात्रा तय गर्नुपर्यो । ३० मिनेट जतिको साइकल सफर पछि तरहरा पुगेर लगभग रातिको ८ बजे तिर राजमार्ग हँुदै धरान आइपुगियो। राजमार्ग विस्तार गर्ने क्रम जारि नै रहेछ ।
यसरी ८,९ घण्टा घुम्दै थकाई मार्दै तीन सिमसार क्षेत्र (आमाह , शंकरबेली र ६४ बिघाहा ) क्षेत्र को यात्रा पुरा गरियो । समयले साथ दिए तपाईहरु पनि अवस्य अवलोकन गर्नुहोला । अर्को मेरो यात्रा तालतलैया क्षेत्रको रहने छ । जसकोे योजनाका लागि म तयारी हुनेछु ।