धरान: धरानमा आज मासु पसलहरुको अनुगमन गरिएको छ ।

आजदेखि लागु हुने गरि मासुको नयाँ मुल्य निर्धारण गरिए पछि मासु पसलहरुको अनुगमन गरिएको हो । मुल्य समायोजन कार्यान्वयन भए नभएकोबारे अनुगमन गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘आजदेखि लागु हुने गरि धरानमा मासुको नयाँ मुल्य समायोजन गरिएको छ, त्यो मुल्य कार्यान्वयन कस्तो भइरहकेो भनेर अनुगमन गरिएको हो,’उनले भने ।

सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइनलगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । अधिकांश पसलमा कार्यान्वयन भएको पाइएको सापकोटाले जानकारी दिए । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइरहेको पनि भेटिएको थियो । ‘केहीमा कुखुराको मासु ३ सयमा बेचेको भेट्यौं, खसीको मासु पनि १ हजारमा बिक्री भइरहेको थियो । अधिकांश पसलमा समायोजन भएको मुल्य कार्यान्वयन भएको नै छ,’अधिकृत सापकोटाले भने,‘कार्यान्वयन नगर्ने पसलहरुलाई कार्यान्वयन गर्न सुझाव दिएका छौं ।’

masu-anu

मासुको मुल्य निर्धारण गर्न गठित समितिले आज (आइतबार)देखि लागु हुने गरि नयाँ मुल्य निर्धारण गरेको थियो । समितिले बोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैया कायम गर्ने निर्णय गरेको थियो भने सँुगुरको मासु प्रतिकिलो ३६०, खसीको मासु प्रतिकिलो ९ सय र राँगाको मासु प्रतिकिलो ३५० निर्धारण गर्ने निर्णय गरेको थियो । बोइलर कुखुराको डिलरहरुले मासु पसललाई एक सय रुपैया मार्जिन हुने गरि ज्यँुदो कुखुरा बिक्री गर्ने पनि सहमति भएको थियो ।