धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत जुनियर रेसिडेन्टहरुले पुनः २४ घण्टे अल्टिमेटम दिएका छन् ।

हिजोदेखि उपकुलपति कार्यालयअघि धर्नामा बसेका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरु पुरा गर्न पदाधिकारीहरु गम्भीर नभएको भन्दै आज पुनः २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले अल्टिमेटम दिएको समयभित्र माग पुरा नगरे भोली (बुधबार) २ बजेदेखि कोभिड सम्बन्धित सम्पुर्ण डिउटी पनि बहिष्कार गर्ने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज विज्ञप्ती जारी गर्दै उपकुलपतिलाई कोरोना पोजेटिभ देखिए पछि पदाधिकारीहरु पनि क्वारेन्टिनमा बसेको वहानामा प्रशासनले वार्ताको लागि चासो नदेखएको आरोप लगाएको छ ।

सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीका अनुसार हिजो अधिकांश मागहरुमा सकरात्मक छलफल भएपनि केही मागहरुको बिषयमा अझै छलफल गरेर सहमति जुट्न बाँकी थियो । तर हिजो साँझ नै उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई संक्रमण पुष्टि भए पछि पदाधिकारीहरु क्वारेन्टिन बसेको वहानामा प्रशासनले वार्तामा चासो देखाएको छैन । ‘हामीले २४ घण्टे अल्टिमेटम दिएका छौं, भोली २ बजेदेखि कोभिडमा गर्दै आएको डिउटी पनि छोड्छौं,’उनले भने । यसअघि जुनियर रेसिडेन्टहरुले इमर्जेन्सी र कोभिडको सेवामा पनि छोडेका थिएनन् । jr 1