धरान: प्रदेश नं १ का यातायात व्यवसायीहरुले पनि संघीय सरकारले गरेको निर्णय अनुसार नै असोज ५ गतेदेखि यातायात सञ्चालन गर्न सहमत भएका छन् ।

सरकारले सञ्चालनको वातावरण तयार नगरे असोज १ गतेदेखि नै स्वतस्फुर्त यातायात चलाउने चेतावनी व्यवसायीहरुले दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगको आज भर्चुअल छलफलमा यातायात व्यवसायीहरु असोज ५ गतेदेखि नै यातायात चलाउन सहमत भएका हुन् । लामो समयपछि यातायात सञ्चालनमा आउने भएपछि कसरी सुरक्षित र व्यवस्थित गर्ने भनेर छलफल भएको थियो ।

भर्चुअल छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश संयोजक सरोज श्रेष्ठले सरकारले निर्णय नगरेमा व्यवसायीहरु आफैले १ गते चलाउने भनिए पनि सरकारले नै ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकोले सहमति जनाएको बताए । ‘सरकारले निर्णय नगर्दा व्यवसायी आफैले १ गतेदेखि चलाउने भन्ने थियो, तर सरकारले नै ५ गतेदेखि लामो, छोटो दुरीको सवारीसाधान खोल्ने निर्णय गरेपछि त्यसमा सहमत भएका छौं,’श्रेष्ठले भने,‘असोज १ गते विश्वकर्मा पुजा गछौं, र बाँकी ३ दिन सम्पुर्ण स्वास्थ्य सुरक्षाको तयारी, मजदुरहलाई सचेतना र गाडीलाई पनि थप मर्मत गरेर तयारी गछौं ।’

श्रेष्ठले अझै कतिपय जिल्लामा सवारी सञ्चालनमा समस्या हुनसक्ने र स्थानीय तहरुमा पनि समस्या देखिनसक्ने भएकोले ४ गतेभित्र प्रदेश सरकारले समन्वय गरेर सहजीकरण गर्न आग्रह गरिएको पनि बताए । ‘यो बीचमा प्रदेश सरकारले समन्वय गर्नुपर्छ, र फेरि गाडीलाई ग्यारेजमा थन्काउनुपर्ने अवस्था आउन दिन हुदैन,’उनले भने,‘संक्रमण देखियो भने पनि राजमार्ग, सहायक राजमार्गलाई बन्द गरिनु हुदैन । जहाँ देखिन्छ, त्यो एरिया मात्र सिल गर्नुपर्छ, बाटो ब्लक गर्नुहुदैन ।’

यसपाली व्यवसायीहरुले बसपार्कमा गाडी स्टेण्ड गर्नुअघि अनिवार्य स्यानिटाइज गर्ने बताएका छन् । त्यसको लागि धरान, इटरही, विराटनगर, काकाडभिट्टा, भोजपुुर, कटारी, हिले, इलाम, खादबारीलगायत सबैतिर समन्वय गरेर स्यानिटाइज गर्ने व्यवस्था गरिएको पनि संयोजक श्रेष्ठले बताए । ‘प्रत्येक चालक र सहचालकले मास्क, पञ्जा लाउछ । कन्डक्टरले फेस सिल्ड पनि लगाउछ । ढोकामा सेनिटाइज हुन्छ, यात्रुले लगाउनुपर्छ,’उनले भने ।

स्वास्थ्य सुरक्षामा ध्यान दिन मुख्यमन्त्रीको आग्रह

chief-minister-sherdhan-rai

मुख्यमन्त्री शेरधन राईले असोज ५ गते अघि नै यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने पनि बताए ।

मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गर्दै माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउनुपर्नेमा जोडदिए । यात्रुहरुको विशेष ध्यान दिन पनि मुख्यमन्त्री राईले व्यवसायीहरुलाई आग्रह गरेका थिए । यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनुपर्ने उनको भनाई थियो ।