धरान: असोज ३ गते संविधान दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले धरानमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

एकेडेमीको धरान उपमहानगर कमिटिले आज क्लिक धरानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज ३ गते भानुचोकमा रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको हो । कोरोना महामारीको कारण रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा अस्पतालहरुमा रगत अभावले विरामीहरुलाई समस्या भइरहेको कारण रक्तदान कार्यक्रम गरिएको एकेडेमीको भनाई छ । उक्त दिन कम्तीमा सय पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष प्रशान्त पाठकले जानकारी दिए । अध्यक्ष पाठकका अनुसार रक्तदानसँगै उक्त दिन निःशुल्क स्वास्थ्य परामर्शको पनि व्यवस्था गरिएको छ भने आर्युवेदिक औषधिको निःशुल्क वितरण तथा परामर्श पनि दिइनेछ । ‘कार्यक्रम नेकपा प्रदेश नं १ कमिटि अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा हुनेछ,’अध्यक्ष पाठकले भने ।

आयोजक संस्था मदन भण्डारी फाउण्डेशनको भातृ संगठनकोरुपमा रहेको छ । बिशेष गरि खेलकुद गतिविधिहरु आयोजना गर्दै आएको एकेडेमीले मानवीय कार्य पनि गरिरहेको फाउण्डेसनका जिल्ला सदस्य रवि खनालले जानकारी दिए । ‘खेलकुद मात्र होइन, मानवीय सेवाको कार्य पनि गरिरहेको छ, त्यसैअन्तर्गत असोज ३ गते कोरोना महामारीले गर्दा रगत संकलन नभएर समस्यामा परेका विरामीहरुको लागि रक्तदान कार्यक्रम गरिएको हो,’उनले भने,‘वीपीका डाक्टरहरुको हातेमालो फाउण्डेसन र सेवक अभियानसँग सहकार्य हुनेछ ।’

madan-bhandari1

खनालका अनुसार हातेमालोमा आवद्ध चिकित्सकहरुले निःशुल्क स्वास्थ्य जाँचसँगै परामर्श पनि दिनेछन् । गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएमा सम्बन्धित ठाउँमा रिफर पनि गरिदिनेछन् । यस्तै, सेवक अभियानसँग सहकार्य गरेर आर्युवेदिन औषधी निःशुल्क विरतण पनि हुनेछ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गर्नेछ । ‘कार्यक्रमको आर्थिक स्रोत आफ्ना क्रियाशिल सदस्य र मातृसंस्थाको कार्यसमिति, पदाधिकारीहरुको सहयोगबाट हो । कार्यक्रम सम्पन्न भएपछि हामी आयव्यय सार्वजनिक पनि गछौ,’खनालले भने,‘कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर नै हुनेछ । साँझ ६ बजे भानुचोकमा दीप प्रज्वलनको कार्यक्रम पनि गछौं ।’