धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको शुभकामना दिदै सरकारले आफ्नो मध्यावधि कार्यअवधिको समिक्षा गर्ने बताएका छन् ।

आज बिहान असोज ३ गते संविधान दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले केही दिनमा सरकारको मध्यावधि कार्यअवधिको समिक्षा गर्ने र बाँकी कार्यअवधिमा गरिने कार्यहरुको योजना पनि प्रस्तुत गर्ने बताएका हुन् । ‘प्रदेश सरकार आफ्नो मध्यावधि कार्यअवधिको समिक्षा गर्दै आगामी बाँकी कार्यअवधिमा गरिने कार्यहरुको योजनासहित केही दिनमा प्रस्तुत हुन गइरहेकोसमेत जानकारी गराउन चाहन्छु,’मुख्यमन्त्री राईले भने ।

प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कृषि, पपर्यटन, उद्योग, पुर्वाधार विकास, समाजिक तथा मानवीय विकास सरकारको प्राथमिकतामा रहेको पनि बताए । ‘समावेशी सहभागिता र न्यायपुर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौं । सबै समुदायको धर्म, सँस्कृति, भाषा, लिपि र कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुद बनाउने अभिप्राय छ,’उनले भने ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश नं १ सरकार पनि क्रियाशिल रहेको उनले बताए । साथै, यो अभियानलाई सफल बनाउन स्वच्छ, सुशी र समुन्नत प्रदेश बनाउने प्रादेशिक मुल नाराका साथ प्रदेश सरकार अघि बढीरहेको उनको भनाई छ । ‘यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुने कुरामा कुनै शंका छैन । समाजका सबै वर्ग, समुह, पेशा, क्षेत्रको सहकार्य आवश्यक छ,’उनले भने ।

नेपालको संविधान २०७२ नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षा पछि जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज भएको पनि उनले बताए । साथै, यो संविधान सबै जाति, भाषा,धर्म, सँस्कृति, लिंग, वर्ण र भुगोलको जनतालाई एकताको सुत्रमा आवद्ध गर्ने माध्यम र राष्ट्र निर्माणको आधार स्तम्भ भएको पनि उनले बताएका छन् ।

‘नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततता गुर्नको साथै सबै वर्ग,क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ । यो संविधानले लामो समयको राजनीतिक द्धन्द र संक्रमणको विधिवत अन्त्य गरि नेपाली जनतालाई पुर्णरुपमा सार्वभौम बनाएको छ,’सन्देशमा भनिएको छ,‘आजको यसदिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली संकल्पित हुने मैले विश्वास लिएको छुँ ।’