धरान: धरानको वडा नं २० साविक विष्णुपादुकास्थित आपटारमा निरन्तरको बर्षा र पहिरोले ७ घरमा क्षति पुगेपछि परिवार विस्थापित भएका छन् ।

स्थानीयका अनुसार भदौ १५ गतेदेखि निरन्तर पहिरो खस्न थालेको थियो । बर्षा पनि निरन्तर भएपछि अहिले ७ घर परिवार विस्थापित भएका हुन् । स्थानीय प्रेमकुमार राईका अनुसार सवलमान राई, रामबहादुर राई, वस्तीलाल राई, नन्दलाल यादव, रामबहादुर राई, विरकुमार राई र सत्यकुमार राईको परिवार विस्थापित भएका हुन् । ‘भदौ १५ गतेदेखि नै भत्कन, पहिरो जान थालेको थियो, आजदेखि त बस्नै नसक्ने भएर उहाँहरुलाई सुरक्षित ठाउँमा सार्दैछौं,’स्थानीय प्रेमकुमार राईले भने ।

pahiro3

उनका अनुसार घरभएको जग्गामा जमिन धाजा फाटेर बस्नै नसकिने भएको छ । सात परिवार विचल्ली भएपछि स्थानीयले पहिरो नगएको सुरक्षित ठाउँमा आज सार्ने काम भइरहेको उनले बताए । वडा नं २० का अध्यक्ष मणिराम राईले पनि ७ घर परिवार विस्थापित भएको बताए । केही दिनअघि अनुगमन गरेर मुचुल्का उठाई रेडक्रसलाई राहतको लागि पत्राचार गरिएको पनि उनले बताए । ‘आज घाम लागेपछि झनै क्षति पुगेछ, निरन्तरको बर्षाले र आजको घामले गर्दा जमिन लच्किएर बस्नै नहुने भएको छ,’अध्यक्ष राईले भने ।

pahiro2

वडा कार्यालयले पत्राचार गरेपछि ३ दिनअघि रेडक्रस सोसाइटी सुनसरीले ७ परिवारलाई राहतसमेत वितरण गरेको थियो शाखा अधिकृत किरण कार्कीका अनुसार ७ परिवार घरमा बस्नै नहुने अवस्था भएकोले राहत दिइएको हो । ‘घरमा बस्नै नहुने अवस्था थियो, त्यसैले ७ परिवारलाई त्रिपाल, कम्मल, भाडाकुडा, कपडा, डोरी, बाल्टीलगायत प्याकेजमा नै राहत दिएका छौं,’कार्कीले भने ।

pahiro1 pahiro4