धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको कमाण्डमा आएको टोलीले विस्थापितहरुलाई अस्थायीरुपमा बस्ने बासको व्यवस्था गरिदिएको हो । ‘इटहरीको पृतना र धरानको फुस्रेको क्याम्पबाट सेनाको टोली आएर विस्थापितहरुको लागि बस्ने बासको व्यवस्था गरिएको छ,’अध्यक्ष राईले भने,‘सुरक्षित ठाउँमा टेण्ट हालेर राखिएको छ ।’

हिजो(शनिबार) अचानक विष्णुपादुकाको आपटारस्थित डाँडा खसेपछि जमिन चिरा पर्नुको साथै भासिएर ७ घर पुर्णरुपमा क्षति पुगेको थियो । ती परिवारहरु हिजोदेखि पुर्णरुपमा विचल्ली भएका थिए । उनीहरुलाई आपटारकै वसन्त लिम्बुको सुरक्षित जग्गामा अस्थायीरुपमा बस्ने व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए । सात मध्ये एक परिवार बास बस्नको लागि धरान बजार पनि झरेकोले तत्काल ६ परिवारलाई मात्र सेनाले बनाएको टेण्टमा राखिएको छ ।

pahiroma2

उपमेयर भण्डारीका अनुसार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका भुगर्वविद् डम्बरबाबु सिलवाल पनि पहिरोग्रस्त क्षेत्रमा पुगेका छन् । भुगर्वविद सिलावले पहिरो गएको क्षेत्र बस्न लायक नभएको भनेका छन् । ‘तत्कालको लागि बास बस्न नै समस्या भएकोले नेपाली सेनाले टेण्ट बनाइदिएर स्थानान्तरण गरियो । मानिसहरु र चौपायलाई सारएिको छ,’उनले भनिन्,‘तत्काल अवश्यक पर्ने राहत पनि दिन्छौं, र दीर्घकालिन व्यवस्थापन कसरी गर्ने भनेर विपद व्यवस्थापन समितिको बैठकले निर्णय गछौं ।’

वडा कार्यालयद्वारा राहत वितरण

pahoro-ma1

आइतबार दिउँसो पहिरोको कारण विस्थापित परिवारलाई २० नम्बर वडा कार्यालयले राहत वितरण गरेको छ । वडा अध्यक्ष मणिराम राईका अनुसार प्रत्येक परिवारलाई तत्कालको लागि ५० केजी चामल, ३ केजी दाल, नुन र तेल १, १ केजी दिइएको छ भने २ वटा साबुन र स्वास्थ्य चौकीबाट औषधी पनि वितरण गरिएको छ ।

‘वडाको विपद व्यवस्थापन समिति बैठकले राहत दिने निर्णय गरेर तत्कालको लागि दिइएको हो । यस्तै, उपमहानगरपालिका र जिल्ला विपद व्यवस्थापन समितिलाई पनि राहतको लागि सिफारिश गर्ने निर्णय भएको छ,’अध्यक्ष राईले भने ।

भिडियो: