धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको हो । उपभोक्ताहरुबाट मुल्य अत्यधिक बढेको गुनासो आएपछि धरान १३ स्थित कृषि बजारस्थलमा आज बिहान बैठक भएको थियो । बैठकले भारतले प्याज निर्यात खुला गरेर सामान नआएसम्मको लागि पुरानो स्टकको प्याजको थोक मुल्य बढीमा प्रतिकिलो ७० रुपैया तोकेको छ भने खुद्रामा बढीमा २० प्रतिशत रकम थप जोडेर ८५ रुपैया प्रतिकिलो उपभोक्तालाई बिक्री गर्न सकिने निर्णय भएको छ । थोक मुल्य आजकै मितिदेखि लागुहुनेछ भने खुद्रा मुल्य भोली बुधबारदेखि लागु हुनेछ ।

krisi3

यो मुल्य समायोजनले उपभोक्ताहरुलाई राहत मिल्नेछ । अहिले प्याजको थोक मुल्य प्रतिकिलो ९० रुपैयामा कारोबार भइरहेको छ भने उपभोक्ताले एक सयभन्दा बढी मुल्यमा प्याज किन्नुपरिरहेको छ । मुल्य समायोजन गर्ने यो बैठकमा मेयर, उपमेयर र व्यापारीहरुबीच निक्कै रस्साकस्सी परेको थियो । प्याजका व्यापारीहरुले थोकमा ७० रुपैयामा बिक्री गर्न नसकिने बताए पनि स्थानीय सरकारले आम उपभोक्ताहरुलाई ध्यान दिदै मुल्य समायोजन गर्न दबाब दिएपछि सहमति भएको हो ।

भिडियो :

 भारत सरकारले गत भदौ २९ गतेदेखि नेपालमा प्याज निर्यात बन्द गरेको थियो । सोही दिनसम्म थोकमा प्रतिकिलो ५५, ६० रुपैयामा कारोबार भइरहेको प्याज भोलीपल्टदेखि ह्वात्तै बढेको थियो । पुरानै स्टकको प्याजलाई थोक व्यापारीहरुले बढी मुल्यमा खुद्रालाई बिक्री गरेपछि उपभोक्तालाई पनि मार परेको थियो । धरानमा दैनिकरुपमा भारतबाट प्याज औसातमा २५ टन प्याज आउने गरेको छ । यो प्याज धरान र कोशी पहाडी क्षेत्रमा खपत हुने गरेको कृषि बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

krisi1 krisi2