धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो ।

नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार भदौ २९ गतेदेखि नेपालमा प्याज आएको छैन । तर, भोलीपल्टदेखि कृषि बजारका थोक(होलसेल) व्यापारीले पुरानै स्टक रहेको प्याजको मुल्य ह्वात्तै वृद्धि गरे । जसले गर्दा २९ गतेअघिसम्म प्रतिकिलो ५५, ६० रुपैया औसतमा कारोबार भइरहेको प्याजको थोक मुल्य नै अहिले ९० रुपैयामा भइरहेको छ । उपभोक्ताहरुले बजारमा खुद्रा मुल्य सय भन्दा माथि तिर्नुपरिरहेको छ । एकसातादेखि भाउ ह्वात्तै बढाएर उपभोक्ता ठगिएको भएपनि सरोकारवाला निकायहरु मौन छन् ।

भदौ २९ गतेदेखि भारतबाट प्याज आएकै छैन । तसर्थ धरानमा अहिले कारोबार भइरहेको प्याज त्यसअघि आएको पुरानै स्टकको हो । जसको मुल्य पनि पुरानै हुनुपर्ने हो । तर, भारतले प्याज ल्याउन प्रतिबन्ध लगाएको मौकामा थोक व्यापारीहरुले प्याजको मुल्य एक्कासी बढाए । ‘भदौ २९ गतेपछि महंगोमा प्याज भारतबाट आएकै छैन, त्यसैले धरानको थोक व्यापारीसँग पुरानै स्टक प्याज छ,’एक व्यापारी भन्छन्,‘तर भारतबाट आउन बन्द भएपछि एक्कासी महंगो भयो । थोक व्यापारीले कति मुल्यमा प्याज ल्याएको हो भनेर खरीद बिल हेर्ने हो भने थाह भैहाल्छ ।’

बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराई पनि भारतबाट प्याज आउन बन्द भएपछि मुल्य वृद्धि भएको बताउँछन् । यो बिषयमा स्थानीय तह र प्रशासनले अध्ययन गर्नुपर्ने उनले बताए । ‘भारतमा भाउ बढेपछि आफ्नो जनतालाई सस्तो खुवाउन निर्यात रोकेको हो, त्यसपछि नेपालमा भाउ बढ्यो,’उनले भने,‘किन यस्तो भयो भनेर अध्ययन गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार कृषि बजारमा अझै पनि हजार किलोसम्म प्याज पुरानै स्टक छ ।

प्याजको भाउ एक्कासी वृद्धि भएकोप्रति स्थानीय तह, प्रशासन पनि जानकार छ । तर, ठोस कदम चालेका छैनन् । धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटा प्याजको भाउ वृद्धि भएकोप्रति ध्यानाकर्षण भएको र आन्तरिक छलफल भइरहेको बताउँछन् । ‘यो बिषयमा ध्यानाकर्षण भएको छ, हामी के गर्ने भनेर आन्तरिक छलफलमा छौं,’उनले भने ।