धरान: नेपाली कांग्रेस वडा नं १ कार्यसमितिका सभापति ईश्वरीप्रसाद रेग्मीको निधन भएको छ ।

सभापति रेग्मीको ६५ बर्षको उमेरमा आज धरान १, आदर्श मार्गस्थित निवासमा निधन भएको हो । रेग्मी लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । उनको जन्म २०१२ साल बैशाख ९ मा भएको थियो । कांग्रेस नेता एवं वीपी अध्ययन प्रतिष्ठान सुनसरीका अध्यक्ष विकास आचार्यका अनुसार रेग्मी कांग्रेसका अग्रज एवं पुराना कार्यकता मध्येका हुन् ।

वनारसमा हुँदा नै प्रतिबन्धित कालमा रेग्मी नेपाली कांग्रेसमा सक्रियरुपमा लागेको नेता आचार्य बताउँछन् । उनी कांग्रेसमा लागेकै कारण उनको सरकारी जागिरसमेत गुमेको थियो । ‘उहाँ नेपाली कांग्रेसका पुराना तथा अगुवा कार्यकर्ता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टी र समाजलाई क्षति पुर्याएको छ,’आचार्यले भने ।

मृतक रेग्मीको आजै चतरामा अन्त्येष्टी गरिने कांग्रेस धरान उपमहानगर कमिटिका उपसभापति महेन्द्र तामांगले जानकारी दिए । ‘उहाँ मिलनसार, स्पष्ट वक्ता हुनुहुन्थ्यो । हक्की स्वभाव तर खुला हृदय भएको अग्रज हुनुहुन्थ्यो,’उपसभापति तामांगले भने,‘ उहाँको निधनले हामी स्तब्ध भएका छौं ।’