धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी एकपछि अर्को विवादमा पर्दै गएका छन् ।

प्रतिष्ठान सुधार गर्छु भन्दै उपकुलपतिमा नियुक्ती भएका गिरी पछिल्लो समय अनावश्यकरुपमा कर्मचारी सरुवामा चलखेलको कारणले विवादमा तानिएका हुन् । कोभिड अस्पताल समयमा नै सञ्चालन गर्न नसकेपछि विवादमा परेका उपकुलपति गिरीले अस्पतालको सामाग्री र औषधी खरिदमा अनियमितता प्रकरणले पनि थप विवादमा परेका थिए । व्यापारीसँगको सेटिङमा खरिद भएको सामानको बिषयमा अनावश्यक दबाब परेपछि कोभिड अस्पताल प्रमुखले राजिनामा नै दिइन् भने सोही प्रकरणमा अनियमित कार्यमा साथ नदिएपछि ४ महिना पनि नपुग्दै खरिद शाखा प्रमुख विष्णु चापागाईलाई सरुवा गरेर उपकुलपति थप विवादको घेरामा परे ।

अहिले फेरि उपकुलपतिले प्रतिष्ठानको सिभिल इन्जिनियरिङ शाखा प्रमुख रहेका इन्जिनियर मदनकुमार साहलाई जिम्मेवारीबाट हटाएर विवादित बनेका छन् । शाखा प्रमुखको जिम्मेवारी उनीभन्दा जुनियर विकास बस्याललाई दिएका छन् । साह इञ्जिनियरिङ अध्ययन गरेर सिधै स्थायी नियुक्ती पाएका व्यक्ति हुन् भने बस्याल ओभरसियर हुन् । उनले पछि बढुवा पाएर अधिकृत ईञ्जिनियर भएका व्यक्ति हुन् । साहलाई हिजो शुक्रबार शाखा प्रमुखको जिम्मेवारीबाट हटाएको पत्र क्वार्टरमा थमाइएको थियो ।

ईञ्जिनियर साहले आफुलाई थाहै नदिई जिम्मेवारीबाट हटाएको बताए । आफुले पाएको पत्रमा जुनियर बस्याललाई बुझबुझारथ गर्न भनिए पनि आफु उनलाई बुझबुझारथ नगर्ने उनले प्रष्ट पारे । ‘के कारणले मलाई हटाएको हो भनेर कर्मचारी प्रशासनलाई सोध्दा थाह छैन भन्यो । उपकुलपतिलाई एसएमएस गरे, म आइसोलेसनमा छुँ भनेर रिप्लाई आयो,’उनले भने,‘मलाई जिम्मेवारीबाट हटाउने कार्य नसच्चिए कानुनी प्रक्रियामा जान्छुँ । सामानको बुझबुझारथ जुनियरलाई गर्दिन, मभन्दा माथिकालाई मात्र गर्छु ।’

प्रतिष्ठानका एक कर्मचारी शाखा प्रमुखबाट ईञ्जिनियरलाई हटाएर ओभरसियरलाई प्रमुख बनाउन नमिल्ने बताउँछन् । ओभरसियरले कुनै पनि कागजातमा हस्ताक्षर गर्न नसक्ने उनको भनाई छ । ‘ईञ्जिनियरलाई हटाएर उसकै स्तरको अर्को ईञ्जिनियरलाई प्रमुख बनाउन मिल्छ, तर ओभरसियरलाई प्रमुख बनाउन मिल्दैन,’ती कर्मचारीले भने,‘ओभरसियरको हस्ताक्षर कुनै पनि कागजमा चल्दैन । यो चै हेल्थ एसिस्टेन्टलाई डाक्टर बनाउनु जस्तै भयो ।’

प्रतिष्ठानका पदाधिकारीसँग मेडिकल सामग्री सप्लाई गर्ने व्यापारी चेतन अग्रवालको मिलेमतो कुनै नौलो बिषय होइन । अग्रवालले प्रतिष्ठानलाई सप्लाई गरेको सामग्रीमा नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा चलाएका धरानका व्यापारी हुन् । प्रतिष्ठानमा नियुक्ती हुने हरेक उपकुलपतिसँग सेटिङ गरेर अग्रवाल दाजुभाईले एकछत्र कब्जा जमाउछन् । आफु अनुकुल काम नहुने भएपछि अग्रवालकै मिलेमतोमा उपकुलपति कार्यालयबाट खरिद शाखा प्रमुख चापागाईको सरुवा भएको थियो भने चर्को दबाब थेग्न नसकि कोभिड अस्पताल प्रमुखले राजिनामा दिएकी थिइन् ।

व्यापारीसँग सेटिङमा उपकुलपतिको सल्लाहकार भनिएका स्वकिय सचिव दिलिप भट्टराई मुख्य भुमिका रहेको आरोप लाग्दै आएको छ । उनले भने बषौंदेखि अस्तब्यस्त रहेको प्रतिष्ठानलाई सिस्टममा हिडाउन सुधारको प्रयास भइरहेको दाबी गरिरहेका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै भट्टराईले ईञ्जिनियर साहले कार्यसम्पादनमा ढिलाई भएकोले जिम्मेवारी हेरफेर गरिएको बताएका छन् । 20200925_204024.psd