धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मचारीहरुको सरुवा गर्न भ्याए, तर उनकै कार्यालयअघि दिनहुँ आन्दोलन गरिरहेका चिकित्सकहरुको मागप्रति भने उपकुलपतिले खासै चासो दिएका छैनन् ।

चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले दिनहुँ उपकुलपति कार्यालयअघि शान्तिपुर्ण धर्ना दिइरहेको छ । चिकित्सकहरुले मौन धारण पनि गरिरहेका छन् । पटक पटक ज्ञापन पत्र मार्फत आफ्ना मागहरु पेश गरेपनि सुनुवाई नभएसम्म आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुको भनाई छ । चिकित्सकहरुले अढाई बर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग लिएर आन्दोलन गरिरहेका छन् ।

bp-faculty 2

सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले आफ्ना मागप्रति लिखितरुपमा ग्यारेण्टी नभएसम्म कुनै पनि सहमति वा सम्झौता नगरिने बताए । ‘जबसम्म लिखितरुपमा हाम्रो प्रमोशन कहिलेसम्म हुन्छ भनेर ग्यारेन्टी हुदैन, तबसम्म अरु बिषयमा सहमति, सम्झौता केही पनि हुदैन,’उनले आन्दोलनलाई सम्बोधन गर्दै भने,‘माग पुरा नभएसम्म हाम्रो आन्दोलन निरन्तर जारी नै रहन्छ ।’

यस्तै, प्रो.डा.माधव लम्सालले प्रतिष्ठानको पाठ्यक्रम पनि समिक्षा गर्नुपर्ने अवस्था आएको बताए । उनले नेपालमा धेरै स्वास्थ्य प्रतिष्ठान स्थापना हुन थालेपछि वीपी ओझेलमा पर्दै गएकोप्रति सबै चिन्तित हुनुपर्ने पनि बताए । उनले प्रतिष्ठानको स्वयत्तत्ता, शिक्षा र सेवाको गुणस्तर खस्कदै गइरहेको पनि बताए ।

भिडियो :