धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आफ्ना मागहरु पटक पटक पेश गरेपनि सम्बोधन नभएको भन्दै मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले आन्दोलन शुरु गरेको हो । आन्दोलनको पहिलो दिन बिहिबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टीहरु भेला भएर केही समय शान्तिपुर्ण प्रर्दशन गरेका थिए । उनीहरुले ३० सेकेण्ड सांकेतिक विरोध स्वरुप मौन धारणा पनि गरे । सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले भने,‘हाम्रो मागहरुको सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा आएका हौं ।’

faculty1

अध्यक्ष पोखरेलका अनुसार समाजको नेतृत्वमा चयन हँुदाको प्रमुख एजेण्डा तलब वृद्धि र बढुवा प्रक्रिया नियमित हुनुपर्ने भन्ने थियो । तलब वृद्धिको निर्णय भए पनि बढेको तलब पाएको छैन भने बढुवा प्रक्रिया करिब अढाई बर्षदेखि अवरुद्ध भएको उनले बताए । ‘फ्याकल्टी प्रमोसन नभएर अहिले कतिपय विभागमा प्रोफेसर छैनन्, जसले गर्दा एमडि, एमएसको सिट संख्यामा पनि असर पुगेको छ,’उनले भने,‘हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’

शुक्रबार पनि उपकुलपति कार्यालयअघि शान्तिपुर्ण प्रर्दशन गर्ने सोसाइटीले प्रष्ट पारेको छ । बौद्धिक क्षेत्रको आन्दोलन भएकोले शान्तिपुर्ण, संयमित र रचनात्मक आन्दोलन हुने अध्यक्ष पोखरेलले बताए । ‘संवादबाट नै समाधान हुन्छ भने कडा कदम चाल्दैनौं । हामीले मौन धारणा प्रतिकात्मकरुपमा आन्दोलन गरेका हौं,उनले भने,‘पहिला कराएर सुन्नु भएन, र अहिले मौन धारणा गरेका हांै ।’