धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले प्रवक्ताबाट राजिनामा दिएका छन् ।

प्रवक्तामा नियुक्त भएका ४ महिनालगत्तै डा.सापकोटाले राजिनामा दिएका हुन् । उनले पदबाट आफुले राजिनामा दिएको जानकारीसहितको इमेल प्रतिष्ठानका विभागीय प्रमुखहरुसहित सिनियर चिकित्सकहरुलाई पनि पठाएका छन् । डा.सापकोटाले कार्यब्यस्ताको कारण राजिनामा दिनुपरेको व्यवहोरा उल्लेख गरेका छन् । उनले हिजो बिहिबार पदबाट राजिनामा दिएका हुन् । डा.सापकोटा मानसिक रोग विभागका प्राध्यापक हुन् ।

डा.सापकोटाले पछिल्लो समय ओपिडी सेवा पनि सुचारु भएपछि कार्यब्यस्ताको कारण राजिनामा दिएको बताए । ‘ओपिडी शुरु भएपछि कामको चाप भयो, त्यसैले हिजो राजिनामा दिएको हुँ,’डा.सापकोटाले भने,‘ओपिडीमा मेरो विरामीहरु धेरै हुनुहुन्छ । उहाँहरुसँग बोल्ने कि प्रवक्ताको फोन उठाउने भन्ने समस्या भयो ।’ आफु प्रवक्तामा नियुक्त हुँदा लकडाउन भएको कारण यति ब्यस्तता होला भन्ने अनुमान नगरेको उनको जिकिर छ ।

डा.सापकोटा करिब ४ महिना अघि जेठ ८ गते प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका थिए । उनले राजिनामा दिनुको कारण कार्यव्यस्तता भनेपनि उपकुलपति र उनको सचिवालयको कार्यशैलीबाट असन्तुष्टीको कारण राजिनामा दिएको एक चिकित्सकको भनाई छ । तर, डा.सापकोटाले भने कार्यब्यस्ताबाहेक अन्य कुनै कारण नभएको जिकिर गरे । ‘अन्य कुनै कारण होइन, स्वेच्छाले नै राजिनामा दिएको हुँ,’उनले भने ।