धरान: निजी तथा संस्थागत विद्यालयहरुले गत बैशाखदेखि नै मासिक शुल्क र बार्षिक शुल्कको नाममा भर्ना शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिका कार्यवाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ती जारी गर्दै लकडाउनले आर्थिक संकटमा परेका अभिभावकहरुलाई बार्षिक र मासिक शुल्क लिइनु अव्यवहारिक र असान्दर्भिक रहेको बताएका छन् । अहिलेको बिषम परिस्थितिको समयमा शुल्क तिर्न बाध्य बनाउने विद्यालयहरुलाई सम्बन्धित निकायले तत्काल कार्बाही गर्न पनि संघले माग गरेको छ । साथै, अनलाइन कक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुका अभिभावकहरुलाई निष्कर्ष नआउनञ्जेल कुनैपनि शुल्क नबुझाउन पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

विद्यालयले शिक्ष्ँक, कर्मचारीहरुलाई मासिक तलब खुवाउनु व्यवहारिक भएपनि अहिलेको बिषम परिस्थितिमा पुर्णरुपमा कुनै पनि शुल्क लिएर कमाउने नियत राख्नु निन्दनीय भएको पनि विज्ञप्तीमा उल्लेख छ । संघले सरोकारवाला विद्यालय, अभिभावक, नेपाल विद्यालय संघ र स्थानीय प्रतिनिधिहरुबीच छलफल भएर निष्कर्ष नआएसम्म सम्पुर्ण विद्यालयहरुलाई पनि कुनैपनि शुल्क नलिन अनुरोध पनि गरेको छ । nebi-sangh