धरान: अनलाइन कक्षाको शुल्कबारे धरान उपमहानगरपालिकामा हिजो आइतबार अभिभावकका प्रतिनिधिसहितको बैठक पनि निष्कर्षविहिन भएको छ ।
करिब ४ घण्टासम्म चलेको बैठकमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुको आआफ्नै अडानको कारण निष्कर्षविहिन भएको हो । अभिभावक र विद्यालय सञ्चालकहरुबीच शुल्कको द्धन्दले शिक्षकहरुको तलब पनि अन्योलग्रस्त भएको हो । स्थानीय सरकारले सबै पक्षलाई मिलाएर निर्णय लिने भन्दै निरन्तर छलफल मात्र गरिरहेको छ, ठोस निर्णय गर्न सकेको छैन ।

शिक्षा महाशाखा प्रमुख रत्न कटवालका अनुसार बैठकमा अभिभावकहरुले बार्षिक शुल्क नतिर्ने र मासिक शुल्क पनि ५० प्रतिशत मात्र तिर्ने अडान लिएका थिए । ‘अभिभावकहरुले बरु यो सालको सेसन बन्द गर्नुपर्छ भने । अनलाइन कक्षामा बच्चाले बुझ्दा पनि बुझ्दैनन, हामीलाई झञ्झट मात्र भयो भने,’कटवालले भने,‘विद्यालय सञ्चालकहरुले यसरी त चलाउन सक्दैनौं, बरु विद्यालय बन्द नै गछौं भने । ३, ४ घण्टा बसियो, निष्कर्षमा पुग्न सकेन ।’

meetin

बैठकमा सहभागी एक अभिभावकका अनुसार प्याब्सन, एन प्याब्सनले ९ महिनाको मासिक शुल्क र ७५ प्रतिशत बार्षिक शुल्क लिने अडान राखेका थिए । ‘हामी मासिक शुल्क ५० प्रतिशत दिन तयार छौं, बार्षिक शुल्क चाहि तिर्दैनौं । बार्षिक शुल्क तिर्ने किन ? आधार दिनुस्, चित्त बुझ्दो जवाफ भए दिन तयार छौं भन्यौं,’ती अभिभावकले भने,‘हाम्रो नानीहरुले बार्षिक शुल्कवापत के पाउछन् ? विगतमा एक शब्द नबोली बार्षिक शुल्क तिरेकै हो । अहिलेको समयमा हाम्रो पनि समस्या बुझिदिनुपर्छ भन्यौं ।’

मेयर तिलक राईले निरन्तर छलफल भइरहेकोले सहमतिको नजिक पुगेको प्रतिक्रिया दिए । ‘नजिक नजिक आइपुगेको छौं, र हामी रिले छलफलमा छौं,’मेयर राईले भने,‘बिहान पनि एक चरण कुरा भएको थियो । आज भोलीमा कुरा मिल्छ ।’