धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापनमा भएको चरम लापरवाहीले कोरोना संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेका छन् ।

सिरियस अवस्थाका संक्रमितहरुलाई सम्पुर्ण उपचार सेवा दिने भनेर लेभल थ्री कोभिड अस्पतालकोरुपमा शुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिलेटर भएको आइसियु बेड पाउन मात्र होइन, संक्रमितहरुले सामान्य 'अक्सिजन पट' भएको बेड पाउन पनि सकेको छैनन्। होम आइसोलेसनमा बसेका संक्रमितहरुले सामान्य अक्सिजन बेड नपाएर ज्यान गुमाउन थालेका छन् । आज साँझ होम आइसोलेसनमा बसेका धरान १६ का ६२ बर्षीय एक संक्रमितको मृत्यु भएको छ । उनलाई गाह्रो हुदै गएपछि प्रतिष्ठानमा लैजान पहल भएको थियो । तर, भेन्टिलेटर मात्र होइन, प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन दिने बेडसमेत खाली थिएन । उनको साँझ घरमा नै मृत्यु भएको छ । मृतकको शवलाई भोली(बिहिबार)मात्र सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ ।

प्रतिष्ठान स्रोतका अनुसार भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सिधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छ । कोभिड अस्पतालमा भर्ना भएकालाई अक्सिजन चाहिदा पालैपालो दिनुपरेको स्रोतको भनाई छ । प्रतिष्ठान कतिसम्म लथालिङ्गा भएको छ भने अक्सिजन दिने सिलिण्डरसमेत सकिएको स्रोतले जनायो । ‘कोभिडको लागि अलग्गै अक्सिजन प्लान्ट हुनुपर्ने हो, तर अहिलेसम्म व्यवस्थापन भएको छैन,’एक चिकित्सक भन्छन्,‘भेन्टिलेटर त परको कुरा, अक्सिजन बेड नै नपाएर मान्छेले ज्यान गुमाउने अवस्था आयो ।’

लेभल थ्री अस्पताल भनेर शुरुवात भएको कोभिड अस्पतालमा सिरियस विरामी मात्र ल्याएर राख्ने हो । त्यसको लागि सबै बेडमा अक्सिजन पट जडान हुनुपर्ने ती चिकित्सकको भनाई छ । ‘यो त लेभल थ्री अस्पताल भनेर शुरु भएको हो, त्यसैले अक्सिजन पट सबै बेडमा हुनुपर्ने थियो । अक्सिजनको प्लान्ट नै यही हुनुपर्छ,’उनले भने,‘दुःखको कुरा संक्रमितहरुले अक्सिजन पनि नपाउने अवस्था भयो ।’

प्रतिष्ठानको कोभिडका विरामी व्यवस्थापन समन्वयकर्ता डा.इन्द्र लिम्बु पनि बुधबार दिनभर होम आइसोलेसनमा बसेका धेरै संक्रमितहरुको फोन आएको बताउँछन् । तर, उनीहरुलाई अक्सिजन बेड पनि उपलब्ध नभएर अस्पताल ल्याउन नसकिएको डा.लिम्बुले बताए । ‘होम आइसोलेसनबाट धेरैको फोन आयो, अक्सिजन दिने बेड नै नभएर अस्पताल ल्याउन सकेनौं,’उनले भने,‘यो बिषयमा पदाधिकारीहरुलाई जानकारी गराइसकेको छुँ ।’ कोभिड अस्पतालको नयाँ भेन्टिलेटरहरु सञ्चालन भएको ३ महिनामै बिग्रिएर थन्किसकेको छ ।

धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवालले पनि लेभल थ्री कोभिड अस्पताल भनेर प्रचार गरेको वीपी प्रतिष्ठानले सिरियस विरामीको लागि उचित व्यवस्थापन नगरेको बताए । उनले पनि बुधबार दिउँसो वडाका एक संक्रमतिलाई अक्सिजन दिनुपर्ने भएपछि कोभिड अस्पतालमा लैजान सम्पर्क गर्दा बेड खाली छैन भन्ने जवाफ दिएको बताए । ‘सास फेर्न गाह्रो भएपछि वीपीमा सम्पर्क गरे, बेड खाली छैन भन्ने जवाफ आयो,’अध्यक्ष कटवालले भने,‘पछि विजयपुर हस्पिटलबाट सिलिण्डर ल्याएर अक्सिजन दिएका छौं ।’