धरान: विरामी आफैले जिद्दी गरेपछि घर ल्याएका धरान ८ का एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

धरान ८ शहिदरत्न मार्गका करिब ६८ बर्षीय संक्रमितको आज दिउँसो मृत्यु भएको हो । उनको दिउँसो करिब २ बजेतिर घरमा नै मृत्यु भएको न्यायिक समिति सदस्य तथा वडा सदस्यसमेत रहेकी सावित्री परियारले जानकारी दिइन् । उनका अनुसार मृतको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको थियो । आज विरामीले नै घर जाने भनेर जिद्दी गरेपछि परिवारले नै जिम्मेवारी लिएर उनलाई घर लगेको थियो । त्यसको केही समय पछि उनको मृत्यु भएको हो । 'विरामी आफैले नै घर जाने भनेपछि परिवारले जिम्मा लिएर घर ल्याएका रहेछन्,'परियारले भनिन्,'२ बजेतिर घरमा मृत्यु भएको रहेछ ।'

मृतकलाई पहिलादेखि नै सुगर र प्रेसरको समस्या थियो । प्रेसर बढेपछि उनलाई इर्मजेन्सी लगिएको र उपचारको क्रममा नै संक्रमण पुष्टि भएको थियो । त्यसपछि इर्मजेन्सीबाट उनलाई कोभिड अस्पतालमा सारिएको जानकारी परिवारले दिएको पनि परियारले बताइन् । आफु मृतकको घरमा पुगेर शव राखेको कोठालाई बन्द गर्न लगाएको र संक्रमितको सम्पर्कमा आएका परिवार सदस्यहरुलाई पनि अरुको सम्पर्कमा नजान आग्रह गरेको बताइन् । 'म गएर परिवार, आफन्तहरुलाई सम्झाएर आएँ, छरछिमेकलाई पनि सम्पर्कमा नजान र सतर्क भएर बस्न भनेको छुँ,'उनले भनिन् ।

योसँगै पछिल्लो २४ घण्टामा धरानमा मृत्यु हुने संक्रमितको संख्या २ पुगेको छ भने अहिलेसम्म २९ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यसअघि हिजो साँझ करिब ५ बजेतिर धरान ८ घर भए पनि छोरीको घर धरान १५ मा बस्दै आएकी एक वृद्धाको पनि वीपीको इर्मजेन्सीबाट घर ल्याएको केही समयपछि नै मृत्यु भएको थियो ।