धरान: आज साँझ धरानमा थप एक कोरोना संक्रमित वृद्धाको निधन भएको छ भने संक्रमणको आशंका गरिएको महिलाको पनि मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार होम आइसोलेसनमा रहेकी धरान १९ की ७० बर्षीया वृद्धाको मृत्यु भएको हो । उनको आज बेलुकी ७ बजेर १५ मिनेटमा घरमा नै निधन भएको मेहताले जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर गर्दा पोजेटिभ आए पछि उनी होम आइसोलेसनमा रहेकी थिइन् । एक साताअघि पुनः परिक्षण गर्दा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको मेहताले बताए ।

यसैगरि, आज बिहान मृत्यु भएकी धरान १४ की एक महिलालाई पनि कोरोना भएको आशंका गरिएको छ । तर उनको पिसिआर परिक्षण नगरिएकोले संक्रमणको पुष्टि भने हुन नसकेको स्वास्थ्य महाशाखा प्रमुख मेहताको भनाई छ । पछिल्लो समय सरकारले परिक्षण नगरि मृत्यु भएका व्यक्तिहरुको पिसिआर परिक्षण नगर्ने प्रोटोकल बनाएको हुनाले ती महिलाको परिक्षण नगरिएको मेहताको भनाई छ ।

मृतक महिला पुर्व प्रहरी हुन् । उनको शवलाई प्रहरीले सलामी दिएको थियो । कोरोना संक्रमणको आशंका गरिएकोले मृतकको शवलाई अन्त्येष्टीमा लैजान ४ वटा पिपिई सेट र मास्क दिइएको पनि मेहताले बताए । उहाँको पिसिआर परिक्षण नगरिए पनि कोरोनाको आशंका गरिएको छ । त्यसैले शव अन्त्येष्टीको लागि ४ वटा पिपिई, मास्क दिएका थियौं, मेहताले भने, सरकारले शंकास्पद नै भएपनि मृत्यु भइसकेको छ भने स्वाब परिक्षण नगर्ने प्रोटोकल बनाएकोले पिसिआर नगरिएको हो । मृतकको आज नै अन्त्येष्टी भइसकेको एक पुर्वप्रहरीले जानकारी दिए । 

ती पुर्वप्रहरीका अनुसार झण्डै २ साताअघि नै रुघामर्कीले च्यापेपछि वीपी प्रतिष्ठानमा उपचार गराउन गएकी थिइन् । त्यहाँ पिसिआर गर्नुपर्ने भनेपछि उनी पिसिआर नगरि फर्किएको र क्लिनिकबाट औषधी खाएकी थिइन् । 'आज बिहान अचानक मृत्यु भएछ । घर, परिवारले पनि कोरोना नै आशंका गरेकोले शव व्यवस्थापनमा समस्या भयो,'ती पुर्वप्रहरीले भने, 'आज नै खत्रीधारामा अन्त्येष्टी भइसक्यो ।'