धरान: लामो समयपछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ ।

कार्तिक २६ गते औपचारिकरुपमा नै संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको कार्यपालिका सदस्यसमेत रहेका वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । पटक पटक संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन भने सकेको छैन । यसअघिका नगरसभा र कार्यपालिका बैठकले पनि संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय भएको थियो । ती निर्णयहरु कार्यान्वयन नहुँदा धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी आयोजना सफल कि असफल भन्ने विवाद कायमै छ ।

यस्तै, यो बैठकले चालु आर्थिक बर्षको दररेट पनि निर्धारण गरेको छ । पहिलो चौमासिक सकिन लाग्दा पनि दररेट निर्धारण नहुँदा विकास, निर्माणको कार्य ठप्प थियो । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायतको दररेट निर्धारण नहुँदा योजनाको लागतस्टिमेट हुन सकिरहेको थिएन । बैठकले दररेट पनि कायम गरेको र अब योजनाहरु अघि बढाउन सहज भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

dharan-karyapalika-meeting

सोही बैठकले धरान १७ स्थित एन्फा क्वारेन्टिनलाई न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने पनि निर्णय गरेको छ । पछिल्लो समय वीपी प्रतिष्ठानमा आइसियु तथा भेन्टिलेटर बेडहरु संक्रमितले पाउन नसकेको चौतर्फी गुनासो हुन थालेपछि उपमहानगरपालिका आफैले अक्सिजनलगायत न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने निर्णय गरेको हो । यस्तै, भेडेटारस्थित शैलुंग डाँडामा निर्माण हुन लागेको स्काईवाक परियोजनालाई अनुमोदन गर्दै बैठकले जलाधार क्षेत्रलाई प्रभाव नपर्ने गरि जग्गा लिजमा उपलब्ध गराउने पनि निर्णय गरेको छ । यस्तै, धरान १३ स्थित वीपी पार्क र धरान १७ स्थित सप्तरंगी पार्कलाई विकास गर्न सँस्कृति तथा नागरिक उड्यायन मन्त्रालयमा पठाएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।