धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यस्तो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार यो निर्णय कार्तिक ९ गते आइतबारदेखि लागु हुनेछ । प्रतिष्ठानले कोरोना संक्रमितलाई ४ वटा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने जनाएको छ । संक्रमित विरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ ।

प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका विरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय दिनुपर्नेछ । यस्तै, गम्भीर लक्षण भएका विरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्नेछ ।

आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिश तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परिक्षण गर्ने पनि प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैया पिसिआर शुल्क लिने पनि प्रतिष्ठानको भनाई छ । notice 1