धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पिसिआर परिक्षण गर्न लिइएको स्वाबको फिर्ता पठाइदिएको छ ।

धरान उपमहानगरपालिकाले हिजो बुधबार संकलन गरेको स्वाबको नमुना परिक्षणको लागि प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले लिन नमानेको हो । काम गर्ने कर्मचारीहरु कम भएको भन्दै स्वाबको नमुना ल्याबले नलिएको हो । प्रतिष्ठानले स्वाबको नमुना नलिए पछि हिजो नै उपमहानगरपालिकाले ती स्वाबलाई सुरक्षितसाथ राखेको छ । चाडपर्वमा पनि धेरै स्वाबको नमुना आएको र परिक्षण गर्न सम्भव नहुने भन्दै प्रतिष्ठानको ल्याबले फर्काइदिएको बताइएको छ।

स्वास्थ्य महाशाखाका अनुसार हिजो ३९६ स्वाब संकलन गरिएको थियो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो ४ बजेतिर स्वाब पुर्याइए पनि प्रतिष्ठानको ल्याबले लिन मानेन । बेलुकी ५ बजेपछि ल्याबमा स्वाबको नमुना लिन बन्द हुने भएकोले त्यतिबेलासम्म पनि नलिए पछि फर्काइएको उनले बताए । ‘मेयर, उपमेयर ज्युले पहल गर्नुभएको छ, आज ल्याबमा स्वाब परिक्षण गर्ने कुरा हुदैछ,’मेहताले भने ।

यो बिषयमा माइक्रोबायोलोजी ल्याबका चिकित्सक र अस्पताल निर्देशकलाई सम्पर्क गर्दा फोन उठेन । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले भने सिस्टम अनुसार उपमहानगरपालिकाबाट स्वाबको नमुना नआएको हुनसक्ने बताए । ‘रिएजेन्ट किन्नुपर्ने भएको छ, र प्रतिष्ठानले शुल्क लिने भनेको छ । यो सिस्टम अनुसार नभएर पनि हुनसक्छ,’उनले भने ।